मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

कांग्रेसका रामजनम चौधरी ‘डेन्जर जोन’मा उम्मेदवार बन्ने,नागरिक उन्मुक्ति पार्टीको गढमा गठबन्धनलाई कति सहज ?

  • प्रकाशित मिति : आइतवार, भदौ ५, २०७९



  • पछिल्लो ५ वर्ष गुमनाम रहेका तर त्यसअघि निरन्तर २२ वर्ष सत्ता र सरकारको वरिपरि रहेका कांग्रेस नेता रामजनम चौधरी आसन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तरखरमा छन् । सो क्षेत्रमा यसअघि तत्कालीन राजपा नेपालबाट रेशम चौधरी निर्वाचित भएका थिए ।

    गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सो क्षेत्र अन्तर्गतका पालिकामा रेशम चौधरीकै दल नागरिक उन्मुक्ति पार्टीले शानदार जित हासिल गरेको छ । त्यसैले उक्त क्षेत्र अन्य दलका लागि ‘डेन्जर जोन’ मानिएको छ ।

    २०४८ सालपछि अनवरत संसद् भवन भित्र छिर्ने भाग्यमानी नेतामध्येका एक हुन् रामजनम चौधरी । उनले २०४८, २०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जिते । २०६४ सालमा भने उनी विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिकतर्फबाट सभासद् चुनिएका थिए ।

    २०७० सालमा दोस्रो संविधानसभाको चुनावमा उनी कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । उनी २०७४ को निर्वाचनमा भने पहिलोपटक पराजित भए । कैलाली क्षेत्र नम्बर ३ बाट माओवादीका गौरीशंकर चौधरीसँग ४ हजार ३८५ मतले पराजित भएका उनी २० हजार ४९४ मतमा सीमित भए ।

    ०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरीले ३४ हजार ३४१ मत ल्याएर जित हासिल गरेका थिए ।

    कारागारमा रेशमको हिसाब : प्रत्यक्षमा ८ सिट, समानुपातिकमा ९ लाख मत

    टीकापुर घटनाले गिजोल्छ रामजनमलाई

    २०७२ ताका संविधान लेखनको क्रममा यहाँ अखण्ड सुदूरपश्चिम र थरुहट÷थारुवान गरी २ परस्पर विरोधी आन्दोलन उत्कर्षमा थियो । थरुहट÷थारुवान आन्दोलन हाँकिरहेको थारु कल्याणकरिणी सभा (थाकस) र थरुहट÷थारुवान संयुक्त संघर्ष समिति पक्षधर सांसदहरूको नेतृत्व रामजनमले नै गरिरहेका थिए ।

    २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो भिडन्त हुँदा एक नाबालकसहित ७ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घट्यो । भदौ ८ गते प्रशासनले जारी गरेको कर्फ्युकाबीच थारु समुदायका ८० बढी घर, पसल, एफएममा आगजनी भयो ।

    कैलालीमा आन्दोलन हाँकिरहेका नेताहरु टीकापुर घटना अभियोगमा पक्राउ परे । तर रामजनमले २०७२ कार्तिकमा स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गरे । उनलाई थारू समुदायलाई उचालेर आन्दोलन गर्न लगाएको, आन्दोलनका क्रममा भएको टीकापुर घटनाको आरोपमा निर्दोष जेल पर्दा पनि बेवास्ता गरेको र आन्दोलनको बुई चढेर मन्त्री पद हासिल गरेको आरोप लाग्दै आएको छ । त्यसैले पनि पछिल्लो समय उनी टीकापुर घटनामा मुछिएकाहरूको मुद्दा फिर्ता तथा रेशम चौधरीको रिहाइका लागि लबिङ गरिरहेका छन् ।

    ‘इमोस्नल ब्ल्याकमेलिङ’को चिरफार गर्दै चुनावमा जान्छु : रामजनम

    २०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनका कारण चुनाव हारेको बताउने रामजनम कैलाली क्षेत्र नं.१ मा उम्मेदवार बन्ने दाबी गर्दछन् । रेशम चौधरीकै दलको गढ मानिएको क्षेत्रमा चुनाव लड्ने घोषणा गरेका उनी स्थानीय तह निर्वाचनमा मतदातालाई ‘इमोस्नल ब्ल्याकमेलिङ’ गरेर रेशमको दलले चुनाव जितेको आरोप लगाए ।

    उनले भने, ‘जनतामाझ इमोस्नल ब्ल्याकमेल गरिएको छ । रेशमलाई रिहा गराउने भनेर भोट मागिएको छ । त्यसलाई नै चिरफार गरेर चुनावमा जान्छु ।’

    उनले टीकापुर घटनाका बन्दीलाई रिहा गराउन केही कानुनी अड्चन रहेको भन्दै तिनलाई संशोधन गर्न पहल भइरहेको बताउँछन् ।

    स्थानीय तहमा कैलाली क्षेत्र नम्बर १ अन्तर्गतको पालिकाहरूमा रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरे पनि सो क्षेत्रमा सत्तारुढ गठबन्धनको मत उल्लेख्य देखिन्छ । स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष÷प्रमुखका उम्मेदवारहरुले १७ हजार १९३ मत प्राप्त गर्दा सत्तारुढ गठबन्धनबाट कांग्रेसको ११ हजार ६७८, माओवादी केन्द्रको ६ हजार ९३०, जसपाको २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीको २ हजार ३३२ मत छ । यस हिसाबले सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको तुलनामा सत्तारुढ गठबन्धन ५ हजार ९४९ मतले अगाडि देखिन्छ ।

    आसन्न निर्वाचनमा सो क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीबाट रन्जिता श्रेष्ठ चौधरी उम्मेदवार बन्ने चर्चा छ । उनी रेशम चौधरीकी पत्नी हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij