प्रकाशित मिति : शनिबार, साउन ३१, २०८२
घोराही । थारु समुदायको महिलाहरुले आज धुमधामका साथ अष्टिम्की मनाउँदैछन् । वर्षको एकचोटि मनाउने यो पर्व थारु समुदायको महिलाहरुको महान पर्व हो ।
श्रीकृष्ण जन्माअष्टमीको दिन हरेक वर्ष थारु समुदायका महिलाहरुले अष्टिम्की मनाउँदै आएका छन् । श्रीकृष्ण जन्माअष्टमी शब्दलाई थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टिम्कीको उत्पत्ति ‘‘अष्टमीटिका’ बाट भएको थारु संस्कृतिविद् अशोक थारु बताउनुहुन्छ । उहाँका अनुसार श्री कृष्णलाई थारु भाषामा ‘कान्हा’ भन्ने गरिन्छ । अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टीका लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले विशेषरुपमा मनाउने गरेको हुनाले यसदिनलाई थारु समुदाले अष्टिम्की भन्ने गरेको संस्कृतिविद् थारुको भनाइ छ ।
दुईदिनसम्म उल्लासमय बातावरणमा मनाउने अष्टिम्की पहिलो दिन थारु महिलाहरुले दिनभरि केही पनि नखाई ब्रत बस्ने गर्दछन् । अष्टिम्कीमा ‘कान्हा’ को जीवनी भित्ते चित्र कोरेर धुमधामसँग टीका, फलफूल अर्पण तथा दीप प्रज्वलन र जलले पूजा अर्चना गर्दै आएको घोराही उपमहानगरपालिका वडा नं. १० जलौराकी इन्दिरा दहितले बताउनुभयो । उहाँका अनुसार अष्टिमकीको पहिलोदिन अर्थात् ब्रत बसेका दिन बिहानै महटावाको घरको बैठक कोठाको उत्तरपट्टिको भागमा लिपपोत गरी चुनले रंगाई श्रीकृष्ण भगवानको चित्रलाई विशेषरुपमा बनाइन्छ ।
त्यसैगरी श्री कृष्णको दायाँ सूर्य र बायाँ भागमा चन्द्रमाको चित्र कोरिन्छ । यसैगरी दोस्रो लाइनमा सात भाइ कौरवको चित्र कोरिन्छ । त्यस्तै तलको भागमा दुलाहा दुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जानलागेको ‘ड्वाला’ माछा, गंगटा, बाघ, हात्ती, मयुर, सर्प, गाईलगायत विभिन्न चरा, चुरिंगी र जनावरको चित्र बनाइन्छ । यसरी सबै चित्र बनाइसकेपछि बेलुका नजिकै खोलामा गाउँभरिका महिलाहरुले स्नान गर्ने गर्दछन् । त्यसपछि विभिन्न किसिमको रंगीचंगी रातो, कालोचोली, सेतो गुन्यु, लंहगाँ र घाँटीभरि थरिथरिको गरगहनाले सजिएर एकैसमयमा गाउँभरिका महिलाहरु लामबद्ध भई बलिरहेको दियो, त्यसैमा रगीचंगी फूल लिएर महटावाको घरमा गई पूजा गर्ने गरेको चौधरीले बताउनुभयो ।
यसरी गाउँभरिका महिलाहरु महटावाको घरमा जम्मा भइसकेपछि महटावाकी श्रीमतीबाट अष्टिम्कीको पूजाको शुरुवात हुने गरेको चौधरीले जानकारी दिुनभयो । ‘यसरी भित्तामा कोरिएका चित्रको सबै भन्दा माथिको लाइनमा रहेको पाँच चित्र मध्ये बीचमा रहेका श्री कृष्ण (कान्हा)लाई टीका लगाएर अन्य चित्रमा क्रमशः सिन्दुरको टीका, कलशको जलद्वारा पूजा गरिन्छ, उहाँले भन्नुभयो– ‘पूजा गर्दा निकै रमाइलो हुन्छ, ठूलाबाट सानो क्रमशै पूजा गर्ने चलन हुन्छ, पूजासँगै सामूहिकमा अष्टिम्कीको गीत गाउने गरिन्छ ।’ उहाँका अनुसार पूजापाठ गरिसकेपछि घर–घरमा गई फलफूल र दही खाई पुनः महटावाको घरमा गई रातभरि गीत गाएर जाग्राम गर्ने गरिन्छ ।
यसरी बिहान भइसकेपछि थारु महिलाहरुले बलिरहेका दियो ‘दीप प्रज्वलन’, ज्यामिरे, फूल नजिकै खोलामा गई बगाउने गर्दछन् । जुन दिनलाई थारु भाषामा फह्रार भन्नेगरेको चौधरीले बताउनुभयो । फह्रारको नुहाई धुवाइ गरी आ–आफ्नो घरमा जान्छन् । घरमा आइसकेपछि पाँचदेखि सात थरिको तरकारी, अन्य मिठामिठा परिकार आ–आफ्नो दाजुभाइको नाममा निकाल्ने गर्छन्, जसलाई थारु भाषामा अग्रासन भन्ने गरिन्छ । त्यही अग्रासन विवाहित महिलाहरुले आ–आफ्नो दाजुभाइहरुलाई अग्रासन दिन जाने चलन रहेको चौधरीले बताउनुभयो । अष्टिम्की पर्व दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले उल्लासमय वातावरणमा मनाउँदै आइरहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij