मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

  • प्रकाशित मिति : सोमवार, माघ १९, २०८२



  • काठमाडौं। छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।

    आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) तयार गरिएको जनाएको छ।

    विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि मन्त्रालयले सतर्क रहन आग्रह गरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालय नागरिकहरूको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको र आवश्यक सबै कदमहरू चालिरहेको जानकारी गराए। उनले सबैलाई नआत्तिन तर सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेका छन्।

    प्रवक्ता बुढाथोकीले भने, “आत्तिनुपर्ने अवस्था छैन, तर सतर्क रहनुपर्छ। त्यसैले सबैले फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी राम्रोसँग पकाएर खाने, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन आवश्यक छ। जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पन्जा र मास्क प्रयोग गर्ने, बेला–बेलामा साबुनपानीले हात धुने तथा भीडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्छ।”

    प्रवक्ता डा बुढाथोकीले कुनै शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न आग्रह गरेका छन्।

    चिकित्सकका अनुसार निपाह भाइरस सङ्क्रमित चमेराको र्याल, पिसाब वा मलमूत्रले दूषित भएको फलफूल सेवन गर्दा सङ्क्रमण हुनसक्छ। साथै सङ्क्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेराबाट सुँगुर हुँदै पनि मानिसमा सङ्क्रमण सर्न सक्ने डा बुढाथोकीले बताए।

    ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउनेजस्ता शङ्कास्पद लक्षण देखिएमा बिरामीको शीघ्र पहिचान, ‘आइसोलेसन’, रिपोर्टिङ तथा सङ्क्रमण रोकथाम तथा नियन्त्रण मापदण्ड कडाइका साथ पालना गर्न गराउन पनि स्वास्थ्य मन्त्रालयले सबैसँग अनुरोध गरेको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij