प्रकाशित मिति : बिहिबार, कार्तिक २७, २०८३
जनकपुरधाम । जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटर चालक एक युवकको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब साढे ४ बजेतिर जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा तीव्र गतिमा रहेको टिपरले पछाडिबाट स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैया निवासी २० वर्षीय नवीन चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटना लगत्तै प्रहरी टोलीले स्कुटर, दुर्घटनामा संलग्न टिपर तथा टिपर चालक महोत्तरीको भंगहा नगरपालिका–७, सितापुर निवासी २२ वर्षीय सचिनकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij