प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५
काठमाडौं । भारतीय वायुसेनाका विंग कमाण्डर अभिनन्दन वर्तमानलाई स्वदेश फिर्ता पठाएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने अभियान चलिरहेका बेला एक १६ वर्षे किशोरी समेत यस वर्षको नोबेल पुरस्कारको मनोनयनमा परेकी छिन् । स्वीडेनकी ग्रेटा थन्बर्ग नाम गरेकी स्कुले बालिकालाई जलवायु परिवर्तनको क्षेत्रमा योगदान पुर्याएवापत मनोनयन सूचीमा राखिएको हो । नर्वेका तीन जना सांसदले उनलाई मनोनित गरेका हुन् ।
यदि उनले जितिन् भने पाकिस्तानकी मलाला युसाफजाईको रेकर्ड तोडिनेछ । मलालाले १७ वर्षको उमेरमा नोबल शान्ति पुरस्कार जितेकी थिइन् । थन्बर्गले मनोनयनमा परेकोमा सम्मानित महसुस गरेको बताएकी छन् । नर्वेका सांसद फ्रेडी एन्ड्रे ओभ्स्टगार्डले एएफपीलाई भने, ‘हामीले ग्रेटा थन्बर्गलाई मनोनित गरेका छौं किनकी यदि हामीले जलवायु परिवर्तन रोक्न केही गरेनौं भने यसले युद्ध, कलह र शरणार्थी समस्याको उत्पादन गर्नेछ ।’

शुक्रबार हजारौं स्कुले विद्यार्थीले संसारका १०० भन्दा बढी देशमा जलवायू परिवर्तन विरुद्ध प्रदर्शन गर्दै छन् । थन्बर्गले सुरु गरेको ‘फ्राइडे फर द फ्यूचर’ नामक अभियान अन्तरगत यो प्रदर्शन गरिएको हो । आजको कार्यक्रम अहिलेसम्मकै सबैभन्दा ठूलो हुने थन्बर्गले दावी गरेकी छन् । थन्बर्गले ट्विटरमा आफूलाई ‘१६ वर्षकी जलवायु कार्यकर्ता’ भनेर चिनाएकी छन् । उनले गत वर्षको अगष्टमा स्वीडेनको संसद अगाडि पहिलोपटक आफ्नो समूहसहित प्रदर्शन गरेकी थिइन् । त्यसयता उनले हरेक शुक्रबार विभिन्न कार्यक्रम गर्दै आएकी छन् ।
गत डिसेम्बरमा पोल्यान्डमा आयोजित राष्ट्रसंघीय जलवायू वार्तामा सम्वोधन गर्ने मौका पाएपछि उनीप्रति विश्व समुदायको ध्यानाकृष्ट भएको थियो । यसैगरी जनवरीमा उनले डाभोसमा आयोजित वल्र्ड ईकोनोमिक फोरममा पनि सम्वोधन गरिन् ।
नोबेल शान्ति पुरस्कारका लागि राष्ट्रिय राजनीतिज्ञ, अन्तर्राष्ट्रिय अफिसियल, प्राज्ञ तथा विगतका विजेताहरुले सम्भावित व्यक्तिहरुको मनोनयन गर्न सक्छन् । यो पुरस्कार आगामी अक्टोबरमा घोषणा गरिने छ भने डिसेम्बरमा प्रदान गरिने छ । नर्वेको राजधानी ओस्लोमा नोबेल पुरस्कार वितरण गरिन्छ । सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि ३०१ जना मनोनयनमा परेका छन् जसमध्ये २२३ व्यक्ति र ७८ संस्था छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij