प्रकाशित मिति : बिहिबार, चैत्र १४, २०७५
काठमाडौं। शारिरीक रुपमा अशक्त भएकाहरुले ह्वील चियर मैत्री सडक तथा फुटपाथ निर्माण गर्न सरकारसँग माग गर्दै बिहीबार काठमाडौंको जोरपाटीमा प्रर्दशन गरेका छन्।
जोरपाटी सडक खण्डको फुटपाथ समेत ह्वील चियर मैत्री नभएपछि शारिरीक रुपमा अशक्त भएकाहरुले सो फुटपाथ भत्काउँदै आफूहरु मैत्री सडक तथा फुटपाथ निर्माण गर्न सरकारलाई दवाव दिन प्रर्दशन गरेका हुन्। सरकारलाई पटक–पटक आग्रह गर्दा पनि आफूहरु मैत्री फुटपाथ समेत नबनेपछि त्यसको विरोधमा बनाइएको फुटपाथ समेत भत्काउन बाध्य हुनु परेको शारिरीक रुपमा असक्त ललितपुरका भोजराज श्रेष्ठले जानकारी दिए।
उनले निर्मित भौतिक पूर्वाधारका कारण आफूहरु घर बाहिर निस्कन सक्ने वातावरण समेत नभएको भन्दै आक्रोश पनि व्यक्त गरे। नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र, जोरपाटीबाट ह्वील चियरमा निस्कनु भएका शारिरीक रुपमा अशक्त भएकाहरुले सडक तथा फुटपाथ आफूहरु मैत्री बनाउन माग गर्दै सरकारका मन्त्री, सचिव र सडक विभागलाई भन्दा पनि आफूहरुको माग सुनुवाई नभएको गुनासो पनि गरेका छन्।
सरकारले आफूहरुलाई घर भित्रबाट बाहिर जान नदिने गरी सडक तथा फुटपाथ निर्माण गरेकाले त्यसको विरोध गर्नु परेको शारिरीक रुपमा अशक्त अर्की गिता झाले बताए। उनले ह्वील चियर मैत्री सडक तथा फुटपाथ निर्माणका लागि सरकारलाई दवाव दिन पनि सबैलाई आह्वान गरे।
अपांगता मैत्री सडक तथा फुटपाथ निर्माण गर्न माग गरिएको प्लेकार्ड समेत लिएका शारिरीक रुपमा अशक्त रहेका नागरिकहरुले ह्वील चियर मैत्री सडक तथा फुटपाथ निर्माण गरे बृद्धदेखि बालबालिका समेतको हित हुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।
नेपालमा हाल कूल जनसंख्याको १० प्रतिशत शारिरीक रुपमा अशक्त भएकाहरु रहेका छन। उनीहरुको हितप्रति सरकार संवेदनशील नदेखिएको विभिन्न अध्ययन प्रतिवेदनले पनि देखाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij