प्रकाशित मिति : बिहिबार, चैत्र १४, २०७५
काठमाडौं मलेसियाको रोजगारी केही दिनमै सुचारु हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र वैदेशिक रोजगार व्यवसायीस संघका पदाधिकारीबीच भएको छलफलमा मन्त्री विष्टले १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी दुई तीन दिन भित्रमा खुल्ने जानकारी दिएका हुन् ।
यसका लागि प्रक्रिया अघि बढिसकेको जानकारी मन्त्री विष्टले गराएकाले ढिलोमा आइतबारसम्म वा त्योभन्दा छिट्टै खुल्ने टुङ्गो लागेको भेटमा सहभागी एक व्यवसायीले बताए । पहिलो चरणमा कलिङ भिसा आएर रोकिएकालाई एक साताभित्र मलेसिया पठाउने मन्त्रालयको तयारी छ । कलिङ भिसा आएर पनि जान नपाएकाहरुलाई श्रम स्वीकृति दिलाउन मन्त्रालयले नै पहल गर्नेभएको छ ।
नयाँ जान चाहनेका लागि भने मलेसियाले केही दिनअघि पठाएको स्वस्थ्य परीक्षणको नयाँ मापदण्ड अनुसार प्रक्रिया गरिने भएकाले केही समय लाग्ने भएको छ । मलेसियाले अघिल्लो हप्ता स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि मन्त्रालयले स्वास्थ्य संस्थालाई सूचीकरणको लागि बुधबार सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ ।
मलेसियाले पठाएको मापदण्ड पनि एक दुई दिनमै सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ । वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ क तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्य्िवधि २०७२ को दफा ३ बमोजिम सूचीकरण हुन १० दिनको समय दिइएको छ ।
प्राप्त निवेदनको आधारमा मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिनेछ । यसअघि स्वास्थ्य परीक्षणमा लापरवाही भएको भन्दै मन्त्रालयले तोकिएको मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिन लागेको हो ।
नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ । कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक श्रम समझदारी भए पनि प्रक्रियाबारे अस्पष्टता कायमै रहेका कारण रोजगारी खुल्न सकेको थिएन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij