प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०७५
बाजुरा । बूढीनन्दा नगरपालिका–३ बस्ने आठ महीनाकी गर्भवती सेतु ल्वारको विमाल चार्टर गरेर उद्धार गरिएको छ। जिल्लामा उपचार सम्भव नभएपछि सीता एयरलाइन्सको विमान चार्टर गरेर कोहलपुर मेडिकल कलेज पठाइएको हो।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पहलमा विमानको प्रबन्ध मिलाएर उद्धार गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए। ल्वारलाई कोल्टी विमानस्थलबाट नेपालगञ्ज विमानस्थल हुँदै कोहलपुर मेडिकल कलेज पुर्याइएको हो।
विशेषज्ञहरुसँगको परामर्शपछि सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले विमान चार्टर गरेर उद्धार गर्न अनुरोध गरेका हुन्। ल्वारको उच्च रक्तचाप, फोक्सोमा पानी जमेको र गर्भवती अवस्थामा हुने जटिल अवस्था देखिएको स्वास्थ्यकर्मीको भनाइ थियो। चार वटा छोरी जन्माइसकेकी ४० वर्षीया ल्वार पाँचौँ सन्तानका लागि गर्भवती थिइन्। कमजोर आर्थिक अवस्थाकै कारण समयमै उपचार गर्न नसकेको सेतुका श्रीमान् तुले ल्वारले बताए। कोल्टीमा यतिबेला विशेषज्ञ शिविर चलिरहेको छ।
जिल्लामा उपचार सम्भव नहुने सुझावपछि प्रदेश निर्वाचन क्षेत्र क बाजुराका प्रदेशसभा सदस्य बल्देव रेग्मी, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको पहल र सामाजिक विकासमन्त्रीको निर्देशनमा उद्धार सम्भव भएको हो। सामाजिक विकास मन्त्रालयले दुर्गम हिमाली र पहाडी जिल्लाका गर्भवती एवं विपद्मा परेका जटिल प्रकृतिका बिरामीलाई हेलिकप्टर र विमानबाट उद्धारका लागि एक करोड बजेट नै विनियोजन गरेको छ।
तत्काल उपचार नगरिए ज्यान नै जोखिममा पर्ने र तुरुन्तै सघन उपचार कक्ष ९आइसियु) मा राख्नुपर्ने अवस्था आएको खबरपछि सामाजिकमन्त्री कृष्णप्रसाद सुवेदीले आकस्मिक रुपमा विमान चार्टरका लागि निर्देशन दिएको सुदूरपश्चिम प्रदेश मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुँवरले जानकारी दिए। हेलिकप्टर तत्काल उपलब्ध नभएपछि विमान नै व्यवस्था गरिएको कुँवरको भनाइ थियो।
विमान चार्टरका लागि दुई लाखभन्दा बढी रकम मन्त्रालयले खर्च गर्नेछ। यसअघि पनि दुई बाजुरा र एउटा बझाङबाट बिरामीको हेलिकप्टर र विमानमार्फत उद्धार गरिसकिएको बताएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार योसँगै पहाडी दुर्गम जिल्लाबाट यसै वर्षमा मात्रै चार जनालाई उद्धार गरिसकेको जानकारी दिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij