प्रकाशित मिति : आइतवार, बैशाख २२, २०७६
खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ। स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए।
छपाइको कार्य शुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ शुरु गर्ने योजना गाउँपालिकाले बनाएको छ । तातोपानी गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली समावेश भएको पाठ्यपुस्तक छपाइको प्रक्रियामा रहेको उनको भनाइ छ।
कक्षा ४ र ५ को पाठ्यपुस्तक पछाइको कार्य ढिलाइ हुने भएको छ । लेखनकार्य बढी गर्नुपर्ने भएकाले पाठ्यपुस्तकको छपाइकार्य ढिलाइ हुने भएको हो । १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तक छपाइकार्य तीव्रगतिमा भइरहेको अध्यक्ष न्यौपानेको भनाइ छ।
कलासंस्कृति, धार्मिकस्थल, भूगोल, इतिहास, सम्पदा, जडीबुटी र खेलकूद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी प्रदान गर्न स्थानीय पाठ्यक्रम बनाउने कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीय पाठ्यक्रमले स्थानीयस्तरमा रहेका विविध विषयको जानकारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाठ्यक्रम तयार गरिएको हो।
गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा १ देखि ५ कक्षासम्म पढाइ सञ्चालन गर्नका लागि स्थानीय खसभाषाको पाठ्यपुस्तक निर्माण गरिएको गाउँपालिका अध्यक्ष न्यौपानेले जानकारी दिए।
तातोपानी गाउँपालिकामा रहेमा रहेका २८ विद्यालयका प्रधानाध्यापकसँगको चौथो घुम्ती बैठकबाट स्थानीय खसभाषाको पाठ्यपुस्तक निर्माणको तयारी गरिएको उनको भनाइ छ । गाउँपालिका क्षेत्रभित्र रहेका पर्यटन, कृषि, राजनीति, कलाकारितालाई प्रधान बनाइएको छ।
उनले भने, “गुणस्तरीय शिक्षाले मात्र देश विकास नहुने भएकाले स्थानीय खसभाषाको पाठ्यपुस्तकलाई जोड दिइएको हो। तातोपानी गाउँपालिकालाई नमूना शैक्षिक गन्तव्यस्थल बनाउन सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउँदै स्थानीय खसभाषाको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने अध्यक्ष न्यौपानेले जानकारी गराए।
गाउँपालिकाभित्र रहेका २८ विद्यालयमा १ देखि ३ कक्षासम्म एकसाथ स्थानीय खसभाषाको पाठ्यपुस्तक पढाइ हुने भएको छ। स्थानीय पहिचान जोगाउन र नयाँपुस्तालाई इतिहास र खसभाषाको ज्ञान प्रदान गर्ने गाउँपालिकाको प्रमुख लक्ष्य रहेको छ। स्थानीय खसभाषामा आधारित पाठ्यपुस्तक निर्माण भएकाले पुरानो संस्कार र संस्कृतिको संरक्षण हुनेछ।
तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको उनको भनाइ छ। अतिरिक्त विषयका रुपमा गाउँपालिकाले विद्यालयमा अध्ययन अध्यापन गर्ने तयारी थालेको छ।
न्यौपानेले स्थानीय तहलाई आफू अनुकूलको पाठ्यपुस्तक निर्माण गर्न पाउने अधिकार भएकाले दस्तावेजका रुपमा पुस्तक प्रकाशनको तयारीमा जुटेको जानकारी दिए। जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका पाठ्यपुस्तक निर्माण गर्ने पहिलो गाउँपालिका बनेको छ। विद्यार्थीलाई बुझिने भाषामा स्थानीयस्तरको पाठ्यपुस्तक निर्माणले गाउँपालिकाको गरिमा बढाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij