प्रकाशित मिति : बुधबार, बैशाख २५, २०७६
काठमाडौं। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गोरखापत्र संस्थानको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीको विकल्प खोज्ने चेतावनी दिए।
उनले गोरखा पत्र संस्थानमा कार्यरत कर्मचारीलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउने चेतावनी दिए।
गोरखा पत्र प्रकाशनको १ सय १९ औं वर्ष प्रवेश तथा चौंथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पेन्सन खाने तर गोरखा पत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढने दाबी गरे।
गोरखा पत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा दिँदै मन्त्री बास्कोटाले त्यसलाई भत्काएर नया भवन निर्माण गर्ने बताए। ‘गोरखापत्र संस्थापनको बाख्राको खोरजस्तो कार्यालय भत्काएर अर्को बनाउनेदेखि लिएर सबै कुरा प्लानिङका साथ अघि बढने कुराहरु हुन सक्छन्,’ मन्त्री बास्कोटाको भनाइ छ।
मन्त्री बास्कोटाले गोरखा पत्र संस्थानलाई पढौं–पढौं लाग्ने बनाउन इमान्दार भएर काम गर्न निर्देशन दिए। गोरखा पत्र संस्थान चुनौतीको घेरामा रहेको उल्लेख गर्दै मन्त्री बास्कोटाले त्यसलाई मुनाफामा परिणत नगरेसम्म सरकारले त्यहाँका कर्मचारीहरुलाई थप सुविधा दिन नसक्ने जनाए।
मन्त्री बास्कोटाले इमान्दार भएर काम गर्नुनै लोकतन्त्र भएको उल्लेख गर्दै त्यसैबाट मात्रै हरेकको सम्मान हुने बताए। कार्यक्रममा मन्त्री बास्कोटाले कामै नगरेको भन्दै हुलाक कार्यालयप्रति आक्रोश व्यक्त गरे।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij