प्रकाशित मिति : शुक्रबार, बैशाख २७, २०७६
काठमाडौं । ट्याक्सी व्यवसायी तथा चालकहरुले ट्याक्सीको भाडा दर समायोजन गर्न सरकारलाई दवाव दिएका छन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले तत्काल ट्याक्सीको भाडा दर समायोजन गर्न सरकारसँग माग गरे ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ७ वर्षयता यति धेरै मूल्य वृद्धि हुँदा पनि सरकारले ट्याक्सीको भाडा दर समायोजन नगरेको भन्दै आपत्ति पनि जनाए । महासचिव मोक्तानले ट्याक्सी चालकहरुलाई प्रशिक्षण दिने व्यवस्था गर्न ट्याक्सी व्यवसायीहरुको पनि गम्भिर ध्यानाकर्षण गराए । ट्याक्सी व्यवस्थापनका लागि पनि सरकारले उचित व्यवस्था गर्नुपर्ने पनि टयाक्सी व्यवसायी तथा चालकहरुको माग छ ।
कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले ट्याक्सीको भाडा दर समायोजनमा ढिलाई नगर्ने प्रतिवद्धता व्यक्त गरे । उनले ट्याक्सी व्यवसायीहरुलाई मापदण्ड भित्र रहेर मात्रै ट्याक्सी संचालन गर्न पनि सचेत गराए ।
‘ट्याक्सीको भाडा दर समायोजनसम्बन्धि समस्या तत्काल समाधान हुन्छ,’ महानिर्देशक दाहालको भनाई थियो, ‘तर ट्याक्सी व्यवसायीहरुले मापदण्ड भित्र रहेर टयाक्सी संचालन गरिदिनु पर्यो ।’ यातायात व्यवस्था विभागले ट्याक्सीको बैज्ञानिक भाडा दर निर्धारण गर्न समितिनै बनाएर कामलाई अघि बढाएको दावी गर्दै आएको छ ।
यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्तकुमार पन्तले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरे । उनले ट्याक्सी चालक तथा व्यवसायीहरुले पनि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पनि स्पष्ट पारे ।
ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा लागि परिरहेकाले उनीहरुमाथि अभद्र व्यवहार नगर्न पनि एसएसपी पन्तले सबैलाई आग्रह गरे । कार्यक्रममा ‘इजि ट्याक्सी नेपाल’ एप्स पनि सार्वजनिक गर्ने जानकारी दिइएको थियो । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले लन्च गर्ने सो एप्सले ट्याक्सी सेवालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij