प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६
काठमाडौं,
पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नं. १६ बाट जेठ ६ गते एपीएफ
टोलीले करीब २ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा
चोरीनिकासीको मरिच बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म (राजश्व तथा भन्सार गस्ती
सुरक्षा) पर्साबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दार्चुला नम्बर ५०
गुल्मबाट खटिएको एपीएफ टोलीले दार्चुला जिल्लाको मालिका अर्जुन
गाँउपालिका वेत भन्ने स्थानबाट जेठ ६ गते करीब १ लाख १८ हजार रुपैयाँ
बराबरको चोरीपैठारीको बिडी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको चार
सय बण्डल बिडी बरामद गरिएको हो ।
बरामद बिडी आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij