प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६
सिरहा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिकामा पर्ने प्रयागपुर चोकमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
ना ८ ख ९८२ नम्बरको प्राइम बस झापाको भद्रपुरबाट काठमाडौँ आउँदै गरेको बस विपरित दिशाबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए।
बसले सडकमा रहेको साँढेलाई जोगाउने क्रममा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए।
दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक भोजपुरका ४० वर्षीय हरिरण पहेली र झापा जलथल ७ का मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाईते भएका ११ जनाको विराटनगर, ८ जनाको सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा र ४ जनाको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घाईते मध्य ५ जना गम्भीर छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij