प्रकाशित मिति : आइतवार, जेष्ठ १२, २०७६
काठमाडौं । सगरमाथा लगायत विभिन्न हिमालहरु आरोहणका क्रममा यस वर्ष १६ जनाको मृत्यु भएको छ ।
यस वर्ष हिमाल आरोहणका लागि अनुमति दिइएका ३२ वटा हिमालका लागि ११६ अनुमति पत्रमार्फत् ८९५ जनालाई हिमाल आरोहणको अनुमति दिइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले जनाएको छ ।
११६ वटा अनुमति पत्रमध्ये सगरमाथा हिमालका लागि मात्रै ४४ अनुमति पत्र दिइएको छ । जसबाट ३८१ जना आरोहीले सगरमाथा आरोहणका अनुमति पाएका छन् ।
यसरी आरोहणका लागि गएका आरोही, शेर्पा तथा सरदारलगायत व्यक्तिहरु मध्ये आरोहणका लागि जाने र फर्किने क्रममा हराएका र मृत्यु भएकाको संख्या १६ पुगेको विभागले जनाएको छ । जसमध्ये सगरमाथामा मात्रै मृत्यु हुने र हराउनेको संख्या ८ रहेको छ ।
दुष्प्रचारप्रति विभागको आपत्ति
यसपटक सगरमाथा आरोहणका क्रममा विभिन्न सामाजिक सञ्जालहरुमार्फत् सगरमाथाको महत्व र गरिमालाई होच्याउने, न्युनीकरण गर्ने मनसाय एव् दुष्प्रचारप्रति विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय भएकाले यस्ता धारणहरु सार्वजनिक गर्नुपूर्व सबैले ध्यान दिनुपर्ने विभागले जनाएको छ ।
विभागले सगरमाथा आरोहणका क्रममा मौसमको अनुकुलताका आधारमा विभिन्न व्यवधानहरु देखिएको, त्यसैक्रममा मे २२ र २३ का दिन सगरमाथा आरोहणका लागि उपयुक्त मौसम भएको र सोही कारण केही बाक्लो उपस्थिति देखिए पनि बाक्लो उपस्थितिकै कारणले आरोहीको मृत्यु भएको जस्ता भ्रमहरु छर्न खोजिएको भन्दै विभागले आपत्ति जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij