प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३
काठमाडौँ । भारतका राष्ट्रपति प्रणव मुखर्जी बुधबार तीन दिवसिय नेपाल भ्रमणको क्रममा काठमाडौं आइपुग्दै छन् । उनी बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।
भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्री प्रकाश शरण महतले जानकारी दिए ।
भ्रमणको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए ।
भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ । उनको सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् ।
राष्ट्रपति मुखर्जीको पुग्ने तथा सहभागी हुने सबै कार्यक्रम व्यवस्थित गरिएको छ ।
राष्ट्रपति विद्यादेबी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नेछिन् ।
त्यसपछि राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन् ।
उनका सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।
भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नेछन् भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ । भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन् ।
राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उहाँसँग शिष्टाचार भेट गर्नेछन् । भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानेछन् ।
राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।
अठार वर्षपछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्धमा न्यानोपन र व्यापकता आउने विस्वास गरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij