प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३
जनकपुर । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको हुन लागेको नेपाल भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल भ्रमणको बेला राष्ट्रपति मुखर्जी जनकपुरको भ्रमण गर्न लागेका हुन् । त्यसका लागि जनकपुरमा त्यसको तयारी तीब्र रुपमा अगाडि बढिरहेको छ ।
कात्तिक १७ गते हुने भ्रमणको क्रममा राष्ट्रपति मुखर्जी कात्तिक १९ गते जनकपुर आउने कार्यक्रम रहेको छ । उच्च सुरक्षाबीच उनले सम्बोधन गर्ने मञ्चको निर्माण भइरहेको छ । धनुषा जिल्लाका सिडियो दिलिप चापागाँइको प्रत्यक्ष निगरानीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले सो मञ्च तयारी गरिरहेका छन् । जनकपुरको तिरहुतिया गाछीमा निर्माण भइरहेको सो मञ्च निर्माण स्थलमा सशस्त्रका एसपी उत्तम थनेत र सेनाका जर्नलको पनि उपस्थिति रहेको छ ।
मञ्च निर्माण स्थल तथा जानकी मन्दिरको सुरक्षा व्यवस्थाबारे गृहमन्त्री विमलेन्द्र निधिले स्वंय अनुगमन गरी जानकारी लिएका छन् ।
जनकपुरमा राष्ट्रपति मुखर्जीको कार्यक्रम ५५ मिनेटको हुनेछ, जसमा ३० मिनेट नागरिक अभिन्दनको कार्यक्रम तिरहुतिया गाछीमा हुनेछ भने २५ मिनेट जानकी मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ । यी दुई ठाउँलाई सुरक्षाकर्मीले घेरा हाली सुरक्षा निगरानी बढाएको छ ।
सिडियो चापागाँईका अनुसार नागरिक अभिनन्दनमा सहभागि हुनेका लागि १५ सय पासको व्यवस्था गरिएको छ । त्यसमा सांसद, पूर्व सांसद, मन्त्री, पूर्वमन्त्री, पत्रकार, नागरिक समाज, कर्मचारी, व्यपारीलगायतका रहेका छन् । नागरिक अभिनन्दनमा सर्वसाधारणको प्रवेशको व्यवस्था गरिएको छ तर उनीहरुलाई मञ्चभन्दा निकै टाढा राख्ने व्यवस्था गरिएको छ ।
मञ्चसम्म जानका लागि दुई प्रवेशद्धारको व्यवस्था गरिएको छ । एउटा राष्ट्रपति मुखर्जी जानेछ भने अर्कोबाट सर्वसाधारण जाने व्यवस्था गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij