प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३
पोखरा । तीन दिने राजकीय भ्रमणमा बुधवार नेपाल आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि पोखरामा रातारात तयारी गरिएको छ । भ्रमणको अन्तिम तथा तेस्रो दिन पोखरा आउने मुखर्जीको स्वागतको लागि रातारात गेट तयार भएका छन् ।
मुखर्जीको आवतजावत हुने सडकमा विभिन्न संघसंस्थाले स्वागत गेट निर्माण गरेका छन् । पोखरा विमानस्थल नजिकै पोखरा उपमहानगरपालिकाको स्वागत गेट छ । मुस्ताङचोकमा पोखरा पर्यटन परिषद्, विरौटाचोकमा पश्चिमाञ्चल होटल संघ र मुखर्जी आरामको लागि जाने होटल पोखरा ग्राण्ड अगाडि रेवान पोखराको स्वागत गेट छ । त्यस्तै नागढुङ्गामा पर्यटन वोर्डको गेट छ ।
पोखरा विमानस्थल भित्रने र वाहिरिने गेटमा स्वागतद्धार राख्न वाँकी छ भने मुखर्जी कार्यक्रमको लागि जाने मार्ग पृथ्बीचोकदेखि रामबजारस्थित पेन्सन क्याम्पसम्म गेट निर्माणको काम वाँकी छ । मुखर्जीको स्वागतको लागि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा गठित मुल ब्यवस्थापन समिति र अन्य पाँच वटा विभिन्न उपसमितिले तयारी तीव्र पारेका छन् ।
भ्रमण तालिका अनुसार मुखर्जी कात्तिक १९ गते विहान काठमाडौंबाट जनकपुर हुदै पोखरा आउने कार्यतालिका छ । जनकपुरमा जानकी मन्दिरको दर्शनपछि आयोजित अभिनन्नद कार्यक्रममा सहभागी भएर मध्यान्ह १२ बजे बुद्ध एयरको विमान मार्फत पोखरा प्रस्थान गर्ने कार्यक्रम छ । उनी दिउसो पौने १ बजे पोखरा विमानस्थलमा अवतरण हुनेछन् ।
विमानस्थलबाट विरौटा स्थित होटल पोखरा ग्राण्डमा जाने र केहिवेरको आरामपछि एयरपोर्ट, पृथ्बीचोक , चाईनापुल हुदै रामजबार स्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । उनी अपरान्ह ४ बजे काठमाडौं फर्किने र सोहि साझ पाँच बजे दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ ।
मुखर्जीको आवागमन हुने सडक मर्मत गर्नुको साथै सरसफाई सुरु गरिएको छ । पोखरा विमानस्थलको रंगरोगन गरिएको छ । स्वागतको लागि सडक किनारमा बाँजागाजा र झाकी सहित विभिन्न जातजाति उपस्थित गराउने तयारी छ ।
साढे १४ सय सुरक्षाकर्मी खटिने
पोखरामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षार्थ साढे १४ सय भन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् । मुखर्जी भ्रमणको तेस्रो तथा अन्तिम दिन शुक्रवार पोखरा आउदैछन् ।
पोखरामा रहने सवा ३ घण्टाको समयमा उनको सुरक्षाको कडा प्रबन्ध मिलाइएको सुरक्षा अधिकारीहरुले बताएका छन् । मुखर्जी आवतजावत गर्ने सडक, उनले आराम गर्ने होटल तथा कार्यक्रम स्थलमा सबै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मुखर्जीको लागि विशेष सुरक्षा योजनानै तयार पारिएको छ ।
उनको सुरक्षाका लागि चार वटा सुरक्षा निकायका १४ सय ५९ सुरक्षाकर्मी परिचालित हुनेछन् । स्रोतका अनुसार उनको सुरक्षामा ३८७ नेपाली सेना, ५६४ नेपाल प्रहरी, ४५७ सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ५१ सुरक्षाकर्मी परिचाति हुनेछन् ।
उनको पहिलो सुरक्षा घेरामा भने भारतीय कमाण्डोनै खटिनेछन् । दोस्रो तहमा नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी र नेपाल प्रहरी रहनेछ । राष्ट्रिय अनुसन्धान विभागको टोली सिभिलमा खटिनेछन् । उनी पोखरामा रहने समयमा अन्य स्थानमा पनि सुरक्षा निगरानी बढाउने र नगरका अन्य क्षेत्रमा सुरक्षाकर्मी परिचालित हुने भएका छन् ।
मुखर्जी सहभागी हुने कार्यक्रममा पनि भूतपूर्व भारतीय सैनिक वाहेक अन्य ब्यक्तिलाई प्रवेशमा कडाई गरिने भएको छ । सञ्चारमाध्यमलाई पनि सिमित मात्रामा प्रवेशको ब्यवस्था मिलाइने भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij