प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३
काठमाडौ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधीमा नेपालवाट ८८ हजार ५ सय ५३ जना संस्थापक रुपमा वैदेशिक रोजगारीमा गएका छन् । चालु आवको साउनदेखि असोज सम्मको यो अवधिमा गत आवको तुलनामा भने रोजगारीमा जानेको संख्या घटेको छ ।
नेपाली कामदारको सबैभन्दा ठूला श्रम गन्तव्य खाडी र मलेसिया हो । यसमध्ये मलेसियाले नेपाली कामदारलाई कम संख्यामा मात्र लिन थालेको तथा मलेसियामा पारिश्रमिक समेत कम भएकाले अहिले जाने कामदार घटेका हुन् । खाडीका कतार, साउदी र युएईमा नेपाली कामदारको आकर्षण भने बढ्दै गएको छ । तर, विगतमा ठूलो संख्यामा मलेसिया जाने गरेका कामदार घटेपछि पहिलो त्रैमासिक अवधीमा रोजगारीका लागि विदेसिने कम देखिएको हो ।
चालु आवका पहिलो तीन महिनामा असोजमा २३ हजार ३२, भदौमा ३२ हजार ७ सय ६९ र साउनमा ३२ हजार ७ सय ५२ जना संस्थागत रुपमा रोजगारीमा गएका छन् । गत आवको असोजमा भने ३५ हजार ४ सय ८४, भदौमा ३९ हजार ९ सय १९ र साउनमा ३८ हजार ८१ जना विदेसिएको वैदेशिक रोजगार विभागले जनाएको छ । चालु आवको पहिलो तीन महिनामा पुन श्रम स्वीकृती लिएर विदेसिनेको संख्या भने ४७ हजार ४ सय पुगेको छ ।
विभागका अनुसार यो अवधीमा संस्थापक रुपमा सवैभन्दा वढी कामदार कतार गएका छन् । तीन महिनामा रोजगारीका लागि कतार जानेको संख्या २७ हजार ६ सय २० जना छ । यस्तै, दोस्रो गन्तव्य मुलुक साउदी अरेविया बनेको छ । तीन महिनामा साउदी जानेको संख्या २५ हजार ६ सय ९९ छ भने मलेसिया १९ हजार १ सय ८० जना र युएई जानेको संख्या ११ हजार ७ जना छ ।
विभागका अनुसार कतार, साउदी, मलेसिया र युएइ जाने कामदार कुल विदेसिनेको संख्याको तुलनामा ९० प्रतिशत भन्दावढी हुन्छ । सरकारले एक सय ९ मुलुकमा रोजगारीमा जान अनुमति दिएपनि अन्य मुलुकको रोजगारी प्रभावकारी नहुदा अदक्ष कामदारका रुपमा धेरै नेपाली यी नै मुलुक जाने गरेका छन् । नेपाली कामदारका लागि दक्षिण कोरिया, जापान, इजरायल लगायत मुलुक अकार्षक गन्तव्य भएपनि ठूलो संख्यामा कामदार भने जान सकेका छैनन । पछिल्लो समय दक्षिण कोरियामा आकर्षण वढी छ । तर, कम संख्यामा मात्र कोटा दिने भएकाले खाडी र मलेसिया नै ठूलो संख्यामा नेपाली जाने गरेका छन् ।
यस्तै, सरकारले गत बर्षदेखिनै खाडी र मलेसिया सहति ७ मुलुकमा शुन्य लागतको व्यवस्था गरेपछि नेपाली म्यानपावर व्यवसायीले आन्दोलन गर्दै आएका छन् । जसका कारण उनीहरुले माग (डिमाण्ड) नल्याउने र ल्याएपनि सरकारले तोकेको भन्दा चौवर बढी शुल्क लिएर कामदार पठाउने गरेका छन् । सोही कारण ती मुलुकले पनि अन्य देशवाट कामदार लिन थालेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij