प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३
दाङ । दाङमा १० वटा स्थानीय सरकार बनाउने सहमति भएको छ । जिल्ला विकास समितिको कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले दुई वटा उप–महानगरपालीका, एउटा नगरपालीका र ७ वटा गाउँपालीका बनाउने सहमति गरेको दाङका स्थानीय विकास अधिकारी कूलबहादुर जिसीले जानकारी दिए ।
जिल्लामा १३ वटा इलाकाहरु छन् । आयोगको प्रतिवेदन अनुसार जिल्लामा १० देखि १३ वटासम्म स्थानिय तह बनाउन सकिने व्यवस्था छ । केहि दिनअघि मात्रै पुर्नरसंरचना प्राविधिक सहयोग समितिले ९ तहको स्थानिय निकायको पुर्नरसंरचनाको खाका तयार पारेको थियो । तर, दलहरुबीच सहमति नभएपछि राजनीतिक दल, नागरीक समाज, पत्रकारलगायतकाको आइतबार पुनः बसेको सर्वपक्षीय बैठकले १० वटा स्थानीय निकाय बनाउने सहमति गरेको हो ।
तुलसीपुर र घोराहीनगरपालीकाको क्षेत्र विस्तार गरेर उप–महानगरपालीका बनाउने सहमति भएको छ । छलफलमा सहभागी एमाले दाङका अध्यक्ष टीकाराम खड्काका अनुसार पञ्चकूले र पुरन्धारा गाविसलाई मिलाएर बबई गाउँपालीका कायम गरिएको छ भने त्यसको केन्द्र हापुरे तोकिएको छ । त्यसैगरी शान्तिनगर, बाघमारे र धनौरी गाविसलाई समेटेर शान्तिनगर गाउँपालीका बनाउने निर्णय भएको छ भने त्यसको केन्द्र खैरेनी निर्धारण गरिएको छ ।
त्यस्तै हेकुली, श्रीगाउँ र गोल्टाकुरीको पश्चिम भेगलाई समेटेर दंगीशरण गाउँपालीका र त्यसको केन्द्र बागर तोकिएको छ । त्यसैगरी बिजौरी, मानपुर, डुरुवा, फुलबारी, गोलटाकुरीको दक्षिण भाग र पवननगरलाई समेटेर तुलसीपुर नगरपालीकालाई उपमहानगरपालीका बनाउने सहमति भएको छ ।
उता घोराही नगरपालीकाको क्षेत्र विस्तार गरेर उपमहानगरपालीका बनाउने सहमति भएको छ । घोराही उप–महानगरपालीका बनाउन रामपुर, लक्ष्मीपुर सैघा, धर्ना, सौंडियार, त्रिपुर नगरपालीकालाइ गाभिएको छ ।
त्यस्तैगरी कोइलावास, गंगापरस्पुर, गडवा र गोबरडिहालाई मिलाएर गडवा गाउँपालीका बनाउने सहमति भएको छ । त्यसको केन्द्र गडवा नै तोकिएको छ । त्यस्तै राजपुर र बेला गाविस मिलाएर राजपुर गाउँपालीका र त्यसको केन्द्र जन्द्रहवा तोकिएको छ । त्यसैगरी लमही नगरपालीकाको क्षेत्र विस्तार गरिएको छ । सतवरिया गाविसलाई मिलाएर लमही नगरपालीका कायम गरिएको हो । त्यसैगरी सिसहनियाँ, लालमटीया, र हाँसीपुरको दक्षिण क्षेत्र मिलाएर राप्ती गाउँपालीका बनाइएको छ । त्यसको केन्द्र मौरीघाट तोकिएको छ ।
त्यस्तै हाँसीपुरको माथिल्लो बेल्ट, काभ्रे, लोहारपानी, स्युजा, मिलाएर बंगलाचुली गाउँपालीका तोकिएको छ । त्यसको केन्द्र काभ्रेको कमिरेचौर तोकिएको छ । जनसंख्या, भूगोल र नागरिकले प्राप्त गर्न सक्ने सेवालाई आधार मानेर स्थानिय निकायको पुर्नरसंरचना गरिएको प्राविधिक समितिका संयोजक समेत रहेका जिसीले बताए । आयोग पछिल्लो चरणमा इलाकालाई आधारमानेर स्थानिय तह बनाउन निर्देशन गरेको थियो । आयोगको कार्यविधि अनुसार उप–महानगरपालीकाको लागि १ लाख ५० हजार जनसंख्या र बार्षिक १० करोड आम्दानीको मापदण्ड तोकिएको छ । त्यस्तै आयोगको पछिल्लो परिमार्जन कार्यविधि अनुसार गाउँपालिकाको लागि २२ हजार, नागरपालीकाको लागि ४० हजार, सदरमुकामको नगरपालीकाको लागि ६० हजार जनसंख्या तय भएको छ । गाउँपालिकाको वडाको लागि ५ हजार ६ सय , नगरपालीकाको वडाको लागि ६ हजार ४ सय तोकिएको छ । आयोगको नयाँसंरचना अनुसार वडालाई विभाजन गर्न सकिने छैन् । सिमाना मिलाउन सक्ने भए पनि वडालाई टुक्राउन नपाइने व्यवस्था भएको प्राविधिक समितिले जनाएको छ ।
पुर्नरसंरचना आयोगको सर्वदलीय बैठकमा नेपाली कांग्रेस गएन
आइतबार भएको सर्वपक्षीय सर्वदलीय बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । नेपाली कांग्रेसले ४ वटा नगरपालीका र ८ वटा गाउँपालीकाको प्रस्ताप अघि सारेको थियो भने नेकपा एमालेले १० वटा मोडेलको प्रस्ताव अघि सारेको थियो । ‘नेपाली कांग्रेससँग मोटामोटी सहमति भएको छ, ‘तपाईंहरुले निर्णय गरेर पठाउनुस भनेकाले हामीले आइतबार कांग्रेस बाह्यका सबै पक्षसँग बसेर निर्णय गरेका हौं,’ स्थानिय विकास अधिकारी कूलबहादुर जिसीले भने ।
अन्य काममा व्यस्त भएकाले समय दिन नसकेको कांग्रेस दाङका अध्यक्ष कृतिबहादुर खड्लाई उदृत गर्दै जिसीले बताए । पुर्नरसंरचनाको अधिकांस तह कांग्रेसले तयार पारेको खाका अनुसार सहमति गरेको प्राविधिक समितका संयोजक समेत रहेका स्थानिय विकास अधिकारी जिसीले बताए ।
‘सफ्टकपी आजै पठाउँछौ, हार्डकपी भोली लिएर आयोगमा जान्छौ ’ उनले भने । उनले नेपाली कांग्रेसको १२ मोडेको खाका पनि आयोगमा पठाइदिने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij