प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७३
लिभरपुल । वार्टफोर्ड विरुद्ध आधा दर्जन गोल गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । प्रशिक्षक जर्गन क्लपको नेतृत्वमा लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको यो पहिलो अवसर हो ।
उत्कृष्ट आक्रमक खेल प्रस्तुत गरेको लिभरपुलका लागि एकतर्फी खेलमा साडियो मानेले दुई तथा फिलिपे काउन्टिन्हो, एमरे च्यान, रोबर्टो फर्मिन्हो र जर्जिनो विज्नाल्डमले एक–एक गोल गरे ।
वार्टफोर्डका लागि डार्यल जनमातले सान्तवना गोल गरे ।
यो सिजन लिभरपुलले चार वा सोभन्दा बढी गोल गरेको यो पाँचौ अवसर हो । ११ खेलमा लिभरपुलले ३० गोल गरिसकेको छ ।
लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटी बराबरीमा रोकिएपछि त्यसको फाइदा उठाउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
११ खेलपछि लिभरपुलको २६ अंक रहेको छ ।
अन्य खेलमा खराब लयबाट गुज्रिरहेको म्यान्चेस्टर युनाइटेडले स्वान्सीविरुद्ध ३–१ को जीत निकालेको छ । यसअघि ४ खेलमा जीतविहिन रहेको युनाइटेडले स्वान्सीविरुद्ध सहज जित हासिल गरेको हो ।
शुरु देखि नै खेलमा हाबी भएको युनाइटेडका लागि पाउल पोग्बाले खेलको १५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
त्यसपछि गोल गर्न नसकेको भनेर आलोचना खेपिरहेका ज्लाटान इब्राहिमोविचले दुई गोल गर्दै पहिलो हाफमा युनाइटेडलाई ३–० को अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा माइन भान डर होर्नले स्वान्सीका लागि गोल गरेपनि खेलमा फर्कन सकेन ।
जितसँगै युनाइटेड लिगको छैटौँ स्थानमा उक्लेको छ ।
उता, हिजै भएको लण्डन डर्बी १–१ गोलको बराबरीमा सकिएको छ ।
केभिन विमरको आत्मघाती गोलको मद्दतले आर्सनलले खेलमा अग्रता लिए पनि खेलको दोस्रो हाफमा घाइते भएर टोलीमा फर्किएका ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरी गरे ।
बराबरीसँग आर्सनल लिगको चौँथो स्थानमा रहेको छ भने टोटनहम पाँचौ स्थानमा रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij