प्रकाशित मिति : सोमवार, साउन ३१, २०७३
काठमाडौं, । नेकपा माओवादी केन्द्रले सहमति अनुसार आठै जनालाई सरकार लगिसक्दा पनि नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले दुई जना बाहेक अन्यलाई सरकारमा सहभागी गराउन सकेको छैन ।
साना दलले समेत सरकारमा पठाए पनि कांग्रेसभित्रको आन्तरिक विवादले विमलेन्द्र निधि र रमेश लेखक बाहेक अन्य नेताहरूलाई सरकारमा सहभागी गराइएको छैन ।
कांग्रेसमा सरकारमा को–को पठाउने भन्ने बारेमा आन्तरिक छलफल समेत अझै हुन सकेको छैन । यसले गर्दा नेता रामचन्द्र पौडेल निकटका कोही पनि नेताहरू सरकारमा सहभागी भएका छैनन । शेखर कोइरालालाई सपथका लागि तयार रहन भनिए पनि छलफल नभएको र परराष्ट्र मन्त्रालय नदिइएको भन्दै उनी तयार भएनन् ।
सभापति शेरबहादुर देउवालाई उनी निकटका नेताहरूले शेखर कोइरालालाई परराष्ट्र मन्त्री नबनाउन दवाव दिएको उच्च स्रोतले जानकारी दियो । तर, कोइराला र पौडेल पक्ष अडानमा रहेका कारण अहिले देउवाले शेखर कोइरालालाई नै परराष्ट्र मन्त्री बनाउन तयार रहेको स्रोतले जानकारी दियो ।
त्यसैगरी देउवाले अहिले असन्तुष्ट देखिएका नेता अर्जुननरसिंह केसीलाई पनि मनाउने प्रयास गरेका छन् ।
उनलाई पर्यटन तथा शहरी विकास मन्त्रालय दिने भनिए पनि प्रकाशशरण महत र बालकृष्ण खाँणको विरोध रहेको स्रोतको दावी छ । त्यसैगरी महिला, आदिवासी, जनजातीको पनि प्रतिनिधित्व हुनुपर्नेमा देउवा सचेत रहेको उनको बुझाइ छ ।
महिलाबाट सितादेवी यादव, अम्विका बस्नेत लगायतको नाम चर्चामा छ । मुस्लिमबाट फरमुल्लाह मन्सुर, दलितबाट मानबहादुर विश्वकर्मालाई सरकारमा पठाउने तयारी भएको कांग्रेसका एक उच्च नेताले जानकारी दिए । यता नेविसंघको विवाद नमिल्दा पनि सरकारमा पठाउने नाम चयन गर्न समस्या भएको ती नेताको भनाइ छ ।
“देउवाले जसरी पनि नेविसंघको सभापति आफू निकटको होस् भन्ने चाहेका छन्,” उनले भने, “अहिले यस्तो अवस्थामा मन्त्री बनाउँदा हुन नपाउनेहरू विरोधमा लागेर आफू निकटका नेतालाई नै हराउलान् भन्ने डर देखिएको छ ।” सकेसम्म नेविसंघको विवाद सुल्झाएर मन्त्रीको नामावली तयार गर्ने तयारीमा देउवा रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij