प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३
पोखरा । पोखराको जिरो किलोमिटर विन्ध्यवासिनी सडक खण्ड यतिवेला धुलाम्य भएको छ । सडक विस्तार कार्य समयमा पूरा नहुँदा सडक खण्ड धुलाम्य भएको हो ।
सडक विस्तारसँगै नेपाल खानेपानी संस्थान पोखरा शाखाले खानेपानीका पाईप दबाउन मूल सडकमा नाला खनेर पुर्दै गर्दा यतिबेला सो सडकमा धुलोका कारण दिउँसै दर्जनौं सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् ।
विहान वेलुका सामान्य जस्तो देखिएपनि हिउँदे खडेरीसँगै दिउँसोको चर्किँदो घाममा सो सडक खण्डमा धुलोले आकाश ढाक्ने गरेको छ । सो धूलोका कारण सो क्षेत्र आसपासका घर वस्तीहरुमा धुलो पस्नुको साथै बालवालिका र वृद्धवृद्धाहरुमा स्वासप्रश्वासको समस्या देखिएको स्थानीयवासीले गुनासो गरेका छन् ।
यता यो वर्ष सो सडक खण्डको नाम रातो किताव मै समावेश छैन । रातो किताव मै आयोजनाको नाम नभएपछि बजेट समेत शून्य रहेको छ ।
वर्तमान गृहमन्त्री विमलेन्द्र निधि तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री हुँदा २०७१ सालमा उद्घाटन गरेको सो सडक खण्डको बजेट अहिले कटौति भएको छ । सरकारका एक जिम्मेवार मन्त्रीले नै उद्घाटन गरेको र ठेक्का सम्झौता भईसकेर काम थालिएको सो सडक खण्डमा चरम राजनीति भएको बताईन्छ ।
सो बजेट नेकपा एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा काटिदिएका आरोप लागेको छ । भने नेपाली कांग्रेसका जिल्ला स्तरका नेता तथा सभासदहरुले समेत ध्यान नपुर्याएको बताईएको छ ।
एमाले नेता एवं सभासद रवीन्द्र अधिकारीको घर छेउ नेरै रहेको सो सडकको रकम काटिदाँ समेत उनी पनि केही नवोलेको स्रोतले बताएको छ । यसरी यो वर्ष रातो कितावमा सडकको नाम तथा बजेट नै नभएपछि अहिले सो सडक लथालिङ्ग र भताभुंङ्ग बनेको छ ।
डिभिजन कार्यालय कास्कीको अनुगमनमा रमण मृत सञ्जिवनीले सडक विस्तार तथा निर्माण ठेक्का लिएको सो सडक सम्पन्न होला र सफा बाटोमा हिँड्न पाईएला भन्दै कुरेका आसपासका नागरिकहरु अहिले रनभूल्लमा परेका छन् ।
सो सडक कम्पनीले २०७१ साल असार ३० गते सम्झौता गरेको थियो । सडक सम्पन्न २०७३ साल असार ३० गते नै हुनुपर्ने सम्झौतामा उल्लेख छ । पोखराको जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्म सो सडकको लम्वाई २.९ किलोमिटर रहेको छ भने ४ लेनको सडक विस्तार गर्ने सम्झौता भएको थियो । सडकको विस्तार कार्य र दोहोरा नाला बनाउने काम भएपनि मूल सडक ढलान गर्ने बेलामा पैसा नभएपछि ठेकेदार कम्पनी पनि यतिवेला असरल्ल परेको छ ।
यसअघि कहिले ठेकेदारले समयमा काम नगरेको र अहिले आएर फेरी सडकको रकम नै रातो कितावमा उल्लेख नहुने गर्दा सम्पन्न हुनुपर्ने समयको झण्डै ६ महिना बितिसक्दा समेत सडक निर्माण हुन सकेको छैन । कूल १३ करोड ३९ लाख २७ हजार ३ सय ४३ रुपैयाँ ५४ पैसा भ्याट बाहेक निर्माण खर्च रहेको सो सडक अव कहिले बन्छ भन्नेमा नै अन्यौल भएको छ ।
रातो किताबमा नै यो सडकको नाम निशाना नै छैन, हाम्रो कस्तो दुर्भाग्य डिभिजन सडक कार्यालय पोखराका प्रमुख प्रेमप्रकाश खत्रीले भने ।
गत वर्ष भारतीय नाकाबन्दीका कारण इन्धन नपाएर र यो वर्ष रातो कितावमा नै बजेट र योजनाको नाम नै नभएर सडक अलपत्र परेको बताए । उनले बजेटको लागि भौतिक योजना मन्त्रालयमा फाईल पठाएको बताएका छन् । यसरी पठाएको फाईल सदर भएमा आगामी असारसम्ममा वजेट निकासा हुने र तव मात्र काम सुरु हुने उनले जानकारी दिएका छन् ।
पोखरासँगै देशका विभिन्न स्थानमा निधिले उद्घाटन गरेका दर्जनबढी आयोजनाको वजेट समेत अर्थमन्त्री पौडेलले तत्कालिन समयमा रातो कितावमा समावेश नगरेको अरोप लागेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij