प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७३
ललितपुर । यातायात व्यवस्था विभागअन्तर्गतको बागमती अञ्चल कार्यालयले झन्डै ९ महिनामा एकलाख सातहजार स्मार्ट सवारी चालक अनुमतिपत्र बितरण गरेको छ ।
नमुनाका रुपमा बागमती कार्यालयमा गत चैतदेखि स्मार्ट चालक अनुमतिपत्र वितरण सुरु भएको हो ।
स्मार्ट चालक अनुमतिपत्रले गर्दा कार्यालयमा भीड बढेको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए।
उनले भने, ‘स्मार्ट अनुमतिपत्र देशमा मात्रै नभएर विदेश जानेका लागिसमेत उपयोगी हुन्छ ।’ नयाँ अनुमतिपत्र सुरु भएपछि मिसनमा जाने सेना, प्रहरीको समेत भीड लागेको छ ।
पानीमा नभिज्ने, देख्दा राम्रो र नक्कलको सम्भावना कम भएकाले पनि स्मार्ट चालक अनुमतिपत्र धेरैको रोजाईमा परेको यादव बताउँछन् । उनले भन्नुभयो, ‘मेसिन रिडेबल हुँदा यसले अन्तर्राष्ट्रियस्तरमा समेत मान्यता पाउँछ ।’
स्मार्ट कार्ड सुरु भएपछि कार्यालयले अरू देशको स्मार्ट कार्डलाई पनि नेपालीकरण गरिरहेको छ । अरू ठाउँका यातायात अञ्चल कार्यालयमा अहिले विभिन्न कारणले सेवा बन्द छ । सेवा सञ्चालनमा हुँदासमेत कतिपय धाएरै स्मार्ट कार्ड लिन काठमाडौँ आउने गरेका थिए ।
पहिले बनाइसकेको कार्ड नवीकरण हुँदा पनि कार्यालयले स्मार्ट कार्ड नै दिइरहेको बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij