प्रकाशित मिति : सोमवार, भदौ १, २०७७
कोरोनाभाइरस समुदायमा फैलिने संकेत देखिएपछि कर्णाली प्रदेश सरकारले आज (भदौ १) देखि कर्णाली प्रवेशमा कडाइ गरेको छ।
सबैभन्दा धेरै प्रभावित कर्णालीका दैलेख र सुर्खेत जिल्लामा समुदायस्तरमा पुगेर स्वाब परीक्षण गर्दा केही व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि नाकामा कडाइ गरिएको हो।
साउन ३० गते बसेको प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसीएमसी)ले आजदेखि लागु हुनेगरी कर्णाली प्रवेश गर्न ‘कोरोना नेगेटिभ’ पिसिआर रिपोर्ट अनिवार्य गरेको थियो।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नाकामा कडाइ गरिएको सामाजिक विकास मन्त्री दल रावलले बताए।
कर्णाली आउनेले नाकामा पुग्नु तीन दिनअघिको कोरोना नेगेटिभ पिसिआर रिपोर्ट दिनुपर्ने व्यवस्था गरिएको मन्त्री रावलले जानकारी दिए।
‘पछिल्लो समय लकडाउन खुकुलो भएसँगै समुदायमा कोरोना संक्रमण फैलिने सम्भावना देखियो,’ उनले भने, ‘कर्णाली बाहिरका केही ठाउँमा लक्षणसहितको कोरोना देखिएपछि पनि यहाँ त्यो अवस्था आउने जोखिमलाई मध्यनजर गर्दै नाकामा कडाइ गरिएको छ।’
आजदेखि रातिको समयमा कर्णाली प्रदेशमा आउन पूर्ण रूपमा बन्द गरिएको छ। कर्णाली प्रदेश भित्रिने मुख्य नाकाहरू सुर्खेतको बबई, कुइने, सल्यानको कालीमाटी, काल्चे, कपुरकोट हुन्। यी नाकाहरूमा पिसिआर रिपोर्ट हेरेरमात्र आउन दिने व्यवस्था गरिएको छ।
यस्तै भारतबाट आएकालाई ७ दिनसम्म अनिवार्य क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गरिसकेपछि मात्र घर जान मिल्ने व्यवस्था गरिएको छ।
प्रदेश राजधानी वीरेन्द्रनगरलगायत मुख्य बजार क्षेत्रका होटल तथा रेष्टुरेन्ट आजदेखि पूर्ण रूपमा बन्द हुनेछन्। केही होटल तथा रेष्टुरेन्टलाई भने स्थानीय प्रशासनको स्वीकृतिमा आवश्यक सुरक्षा मापदण्ड पूरा गरी आइसोलेशन तथा क्वारेन्टिनको रूपमा प्रयोग गर्न निर्णय भएको मन्त्री रावलले बताए। आजदेखि पर्यटकीय क्षेत्रमा समेत घुमफिरका लागि जान रोक लगाइएको उनले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij