आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मनकारी पालिका अध्यक्ष: सरकारी सुविधा विपन्न र गाउँटोलका नाममा

  • प्रकाशित मिति : शनिबार, चैत्र ७, २०७७



  • म्याग्दी- स्विमिङ र ड्राइभिङमा अन्तर्राष्ट्रिय पदक विजेता म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन दुःखका सारथि बनेका छन् ।
    भारतीय सेनाको निवृत्त क्याप्टेन पुनले जनप्रतिनिधिको रूपमा म्याग्दीको उत्तरी क्षेत्रको विकासको अगुवाइ मात्र गरेका छैनन्, आफूले पाउने सेवा-सुविधालाई पनि जनताको अप्ठेरो फुकाउन परिचालन गरेका छन् ।

    उनले जनप्रतिनिधिको हैसियतमा सुविधाबापत पाएको १८ लाख रुपैयाँभन्दा बढी रकमलाई सामाजिक काममा खर्चिएका छन् । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिक स्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन अध्यक्ष पुनले आफूले पाएको सुविधा खर्चिएका हुन् ।

    सेवा-सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करिब ४ वर्षको अवधिमा १८ लाख २ हजार रुपैयाँ सामाजिक क्षेत्रमा परिचालन गरेको अध्यक्ष पुनले बताए । ‘भारतीय सेनाको पेन्सनले मेरो खर्च पुग्छ । परिवारका सदस्यहरू आफैं आत्मनिर्भर छन्’, उनले भने, ‘जनतासँग गरेको प्रतिबद्धताअनुसार सेवा-सुविधालाई सामाजिक क्षेत्रमा लगाएको हो ।’

    खातामा ३ लाख रुपैयाँ बाँकी छ । गण्डकी प्रदेश सरकारले गाउँपालिका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक ४८ हजार रुपैयाँ सुविधा तोकेको छ ।

    पोखराको सुन्दरीडाँडास्थित शिवमन्दिरमा नियमित पूजा सञ्चालनका लागि ५ लाखको अक्षयकोष स्थापना गरेर एउटा पुजारीलाई तलबको व्यवस्था गरेका पुनले वडा नम्बर ४ गाडपारको नारच्याङ आधारभूत विद्यालयमा १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

    परिवारको कमजोर आर्थिक अवस्थाका कारण इञ्जिनियरिङको प्रवेश परीक्षा उत्तीर्ण भए पनि भर्ना हुन नसकेका पाउद्वारका काजल रोकालाई १ लाख रुपैयाँ सहयोग गरेर गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिएका थिए । करेन्ट लागेर दुवै हात गुमाएकी पाउद्वारकी कृशिखा विकको उपचारका लागि अस्पताल पुग्न बाटो खर्चस्वरूप ३० हजार रुपैयाँ उपलब्ध गराए ।

    गाउँपालिकाका विद्यालयमा टेलिटिचिङ सुरु गर्न ५० हजार सहयोग गरेर अभियान सुरु गरेका पुनले ज्ञानप्रकाश माविलाई ५० हजार, मुक्तिमार्ग माविलाई ५० हजार, शिख माविलाई १ लाख, काफलडाँडाको करबाकेली संरक्षण समितिलाई १ लाख १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

    अध्यक्ष पुनले पाउद्वार उपल्लोगाउँको आमा समूहको भवन निर्माणमा २ लाख ५० हजार, पाउद्वार युवा क्लबलाई मन्दिर बनाउन ५० हजार, फलातेमा खेलमैदान बनाउन ५० हजार, किन्दुको आमा समूहलाई भाँडा खरिद गर्न ४२ हजार रुपैयाँ सहयोग गरेका छन् ।

    पुनको सहयोग यत्तिमा मात्र सीमित छैन । घराप आमा समूहको खानेपानी योजनालाई १ लाख १० हजार रुपैयाँ पाइप खरिद गरेर उपलब्ध गराएका पुनले बजेट अभावमा अधुरो बनेको घारको खानेपानी आयोजनालाई पूर्णता दिन १ लाख सहयोगको घोषणा गरेका छन् । दोसल्लेका धनबहादुर पुनको घर पुनर्निर्माणका लागि जस्तापाता किन्न ३५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

    कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई ५० हजार र हिस्तान स्वास्थ्य चौकीलाई ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

    विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थी र खेलाडीलाई पुरस्कृत गरेका पुनले जनप्रतिनिधि नभएको अवस्थामा पनि सामाजिक क्षेत्रमा सहयोग र समय दिएर योगदान गरेका थिए । पहिरो, चट्याङ, आगलागीपीडितका साथै आर्थिक अभावका कारण उपचारका लागि अस्पताल पुग्न नसक्ने विपन्नका लागि पनि आफ्नो पारिश्रमिकबाटै सहयोग गर्छन् ।
    प्राकृतिक प्रकोपको अवस्थामा जोखिम मोलेर आफैं उद्धार र राहतमा अगुवाइ गर्छन् ।

    ‘सीप र कला सिकाउन नपाउँदा रुन मन लाग्छ’

    २०२१ मा भारतीय सेनामा भर्ती भएर २१ वर्ष ९ महिना काम गरेर फर्किएका पुन पर्यटकीय स्थल घोडेपानीको सन्नी होटलका सञ्चालक हुन् । भारतीय सेनामा रहँदा स्विमिङ र ड्राइभिङमा १० वर्ष लगातार नेसनल च्याम्पियन बनेका पुनले नवौँ र दसौँ एसियन, १९७९ को कमन वेल्थ गेम, १९८२ को वल्र्ड च्यापियनसिपमा सहभागी भएर पदक दिलाएका थिए ।

    भारतमा खेल प्रशिक्षक भएर काम गरेका उनले नेपालको राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएर पदक जितेका थिए । होटलका कोठालाई समेत अन्तर्राष्ट्रिय खेलाडीको नामबाट नामकरण गरेर व्यवसायमा नयाँ शैली अपनाएका पुनको अगुवाइमा घोडेपानी र पुनहिल क्षेत्रको पर्यटन विकासमा धेरै महत्त्वपूर्ण काम भएका छन् ।

    जनप्रतिनिधि बनेपछि श्रीमती र छोरालाई होटलको जिम्मा लगाएका पुन परिस्थितिले राजनीतिमा आउनुपरे पनि आफ्नो सीप, अनुभव र क्षमतालाई नेपालको खेल क्षेत्रमा उपयोग गर्न नसकेकामा दुखी सुनिन्छन् ।

    ‘जनताको सेवा गराैँ भनेर राजनीतिमा हाम फालेर गाउँपालिकाको अध्यक्ष बनेँ । राम्रो गराैँ भनेर लागेको छु’, पुनले भने, ‘तर मेरो मूल्य, गोल्ड मेडल र पदक सम्झिँदा, कला सिकाउन नपाउँदा रुन मन लाग्छ ।’

    उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग मितेरी साइनो गाँसेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij