प्रकाशित मिति : मङ्लबार, जेष्ठ ४, २०७८
धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाले १० लाख रूपैयाँ उपलब्ध गराएकी छन्।

कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भइरहेको र उनीहरूमध्ये अधिकांशलाई अस्पतालमा अक्सिजनको सहायतामा राख्नुपर्ने भए पनि अक्सिजनको अभाव छ।
उपमहानगरले अक्सिजन प्लान्ट निर्माण गर्ने योजना बनाएअनुसार अहिले सहयोग रकम संकलनका काम भइरहेका छन्।
उपमहानगरका मेयर नृपबहादुर वडले कांग्रेस नेता देउवाबाट उक्त सहयोग रकम उपलब्ध भएको जानकारी दिएका छन्।
‘उपमहानगरमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा कांग्रेस नेता, पूर्वसांसद आरजु राणा देउवाले १० लाख उपलब्ध गराउनुभएको छ,’ उनले भनेका छन्।
उपमहानगरले कोभिड १९ आकस्मिक कोष खातामा रकम जम्मा गरिदिन सहयोगीहरूलाई आग्रहसमेत गरेको छ।
यहाँ देउवाको पहलमा चौधरी फाउन्डेसन र उपमहानगर मिलेर अक्सिजन प्लान्ट स्थापना गर्ने अभियान सुरू भएको हो। उक्त अभियानमा स्वदेश तथा विदेशमा रहनेहरूले आर्थिक सहयोग गरिरहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij