प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१, २०७८
जाजरकोट । इपेन्डिसाइटिसले ज्यान जोखिममा परेकी एक महिलाको कुशे गाउँपालिकाले हेलिकप्टरबाट उद्दार गरेको छ । कुशे गाउँपालिका ६ की २० दिनकी सुत्केरी महिला पम्फा सिंह शाहीलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्दार गरि थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज पठाइएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । उनी बुधबार देखि अचानक बिरामी भएपछि घरंगा स्थित स्वास्थ्य चौकिमा उपचारको लागि लिइएको र स्वास्थ्य चौकिमा जाँचको क्रममा इपेन्डिसाइटिसको लक्षण देखिएको थियो ।
बिरामीलाई गाडीबाट उपचारको लागि पठाउदा झन जोखिम हुने भएकोले हेलिकप्टरको ब्यवस्थापनगरि थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज पठाइएको गाउँपालिका अध्यक्ष बस्नेतले बताए । अध्यक्ष बस्नेतले भने, ‘बिरामीको नेपालगंज मेडिकल कलेजमा उपचार भैरहेको छ । भर्खरै मात्र मैले सम्पर्क गरेको र अप्रेसनको तयारी भैरहेको जानकारी प्राप्त भएको छ । बिरामीको छिटो अप्रेसनको तयारी भईरहेको छ, गाउँपालिकाले नागरिकको स्वास्थ्य उपचारमा कुनै पनि कमि राखेको छैन र राख्दैन पनि ।’
बिगतमा पनि गाउँपालिकाले विभिन्न बिरामी गर्भवती महिला लगायतको हेलिकप्टरबाट उद्दार गरेको उनले बताए । नागरिकको उपचारमा कुनै कसुर बाँकी नराख्ने अध्यक्ष बस्नेतको भनाइ छ । स्थानीय सरकार जनताको घर दैलोको अभिभावक भएकाले जस्तोसुकै अबस्थामा जनताको सेवा गर्न जनप्रतिनिधिको कर्तव्य पूरा गरेर छाड्ने उनले बताए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij