प्रकाशित मिति : बिहिबार, पुस २१, २०७३
निजी क्षेत्रले लामो समयदेखि प्रयास गर्दासमेत ललितपुर ‘हस्तकलाको जिल्ला’ घोषणा हुन सकेको छैन ।
तीन वर्षदेखि हस्तकलाको जिल्ला घोषणा गर्न माग गर्दैआएको ललितपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रवीन्द्र ताम्राकारले बताए। एक जिल्ला एक उत्पादनअन्तर्गत सो माग गरिएको उनको भनाइ छ ।
“उद्योग मन्त्रालय यसमा सकारात्मक भए पनि बजेट निकासा गरेको छैन,” उनले भने। हस्तकलाको जिल्ला घोषणा हुँदा औद्योगिक क्षेत्र मात्रै नभएर सिङ्गो जिल्लाको विकासमा सहयोग पुग्ने ताम्राकारको भनाइ छ ।
हस्तकलामा धेरै नागरिक संलग्न भए पनि यसको व्यवसायीकरण हुन सकेको छैन । उनी भन्छन् – “हस्तकलामा संलग्न धेरै व्यवसायीभन्दा पनि कामदार मात्रै भएका छन् ।” हस्तकलाको जिल्ला बनाउन सकिएमा कालीगढले आफैँ फाइदा लिन सक्ने ताम्राकारको भनाइ छ ।
जिल्लामा हस्तकला परम्परागत पेसाका रुपमा रहेको छ। यहाँका धेरै व्यवसायीले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन् नगरका भित्री भाग र अन्य टोल टोलमा धातुकला, काष्ठकलालगायत काम हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले हस्तकलालाई ४२ प्रकारमा विभाजन गरेको छ । तीमध्ये अधिकांश प्रकारका हस्तकला ललितपुरमा पाइन्छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij