आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चार जलविद्युत् आयोजनामा क्षति पुग्दा करोडौँंको नोक्सानी

  • प्रकाशित मिति : बिहिबार, असार ३, २०७८



  • कास्की । केही दिनदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा चार वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । मादीको वडा नं १ र २ स्थित नदी किनारमा निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत् आयोजनामा गएरातिको बाढीले ठूलो क्षति गरेको हो ।

    बाढीबाट ४४ मेगावाट क्षमताको निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनामा सबैभन्दा बढी क्षति पुगेको र सञ्चालनमा रहेका अन्य तीन आयोजनामा आंशिक क्षति पुगेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार आयोजना सम्पन्न भएर हाल सञ्चालनमा रहेका १० मेगावाटको सिक्लेस हाइड्रो पावर, १२ मेगावाट क्षमताको हिमालयन हाइड्रो(नार्माजुङ) र २५ मेगावाट क्षमताको अपर मादीमा क्षति पुग्दा विद्युत् उत्पादन अहिले बन्द भएको छ ।

    अपर मादीको बाँध पुरिएको र विद्यृत् गृहमा बाढीले क्षति पुर्‍याएको अध्यक्ष गुरुङले जानकारी दिए । पहिराले सिक्लेस हाइड्रको प्रशारण लाइन बगाएको छ भने विद्युत् गृह पनि जोखिममा रहेको बताइन्छ । आगामी वर्ष विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको सुपर मादी आयोजना बाढीले सबैभन्दा बढी प्रभावित बनेको छ । आयोजनामा काम गर्ने १७० जना मजदूरलाई भने स्थानीयवासी, नेपाली सेनालगायतको पहलमा आज बिहान उद्धार गरी विद्यालयलगायतका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताइन्छ ।

    रु सात अर्ब ५० करोड लगानीमा बन्दै गरेको सो आयोजनामा बाढीबाट रु एक अर्ब भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको आयोजनाका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताए । उनका अनुसार इलेक्ट्रो मेकानिकलतर्फ रु ३० करोड, हाइड्रो मेकानिकल रु १२ देखि १५ करोड, सिभिल कन्ट्रयाक्टरको निर्माण सामग्री, डन्डी, फलामसहित रु २० करोड, प्लान्ट र उपकरणमा रु २० करोड र सिभिल संरचनामा रु २० करोड गरी रु एक अर्ब हाराहारीमा क्षति पुगेको छ ।

    यसैगरी आयोजनाको सुरुङबाहेक बाँध, विद्युत् गृह, हाइड्रो मेकानिकल र अन्य सिभिल संरचनाहरु बाढीले बगाएको छ । आयोजनास्थलमा रहेकका चार वटा एक्साभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, छ वटा कम्प्रेसर, अन्दाजी ४५० टन डण्डी र १० हजार बोरा सिमेन्ट बगाएको आयोजनाले जनाएको छ । “हिजो रातिको बाढीले आयोजनामा ठूलो वितण्डा मच्चाएको छ । मानवीय क्षति हुनबाट रोक्न सफल भएपनि हेडवक्र्स र विद्युत् गृह पूर्णतः नष्ट भयो ।” अध्यक्ष ढुङ्गानाले भने,“मानवीय क्षति रोक्न सफल भए पनि आयोजनामा करोडौँको भौतिक क्षति भएको छ ।” हाल आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएकामा बाढीका कारणले पुगेको क्षतिबाट आयोजना थप एक वर्ष लम्बिने र लागत बढ्ने अनुमान गरिएको उनले बताए ।

    बाढीले २४१ भेडाबाख्रा बगायो

    यसैगरी मादी गाउँपालिका—१ स्थित होकुमा रहेको भेडीगोठ बाढीले बगाउँदा २४१ भेडाबाख्रा बगेका छन् । सिक्लेसबाट चार घण्टाको समय लाग्ने विकट ठाउँमा रहेको भेडीगोठ हिजो राति बाढीले बगाएको खबर प्राप्त भएको सोही वडाका अध्यक्ष सुरज गुरुङले जानकारी दिए ।

    मद्मी र कह्पा नदीको बीचमा रहेको स्थानीय लिलबहादुर गुरुङ र लेखनाथ गुरुङको भेडीगोठ बगाएको बताइन्छ । गोठमा २६३ भेडाबाख्रा रहेमा २२ वटा बाढीबाट बच्न सफल रहेका छन् । भेडीगोठ बगाएपनि तीन जना गोठालाहरु भने बाँच्न सफल भएको र उनीहरु सुरक्षित रहेको जनाइएको छ ।

    वडाध्यक्ष गुरुङले भने,“बिहान हामीलाई भेडीगोठ बगाएको जानकारी आएको थियो । हेलिकप्टरबाट गोठालाहरुको उद्धार गर्ने तयारी गरेपनि मौसमको खराबीले सम्भव भएन, अहिले तीनै जना सुरक्षित स्थानमा रहेको र तल झर्दै गरेको भन्ने खबर पाएका छौँ ।” रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij