प्रकाशित मिति : शुक्रबार, असार २५, २०७८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएका बेला सभापतिलगायत पदमा आकांक्षीहरू बढ्दै गएका छन्।
सभापतिमा फेरि शेरबहादुर देउवा उठ्ने बताइसकेका छन्। तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट को सभापति उठ्ने टुंगो छैन, आकांक्षी धेरै देखिएका छन्।
उपसभापति विमलेन्द्र निधि पनि सभापतिका लागि तयारी गरिरहेका छन्। उनले भेटघाटलाई तीब्रता दिएका छन्।
पौडेल पक्षमा सभापतिका लागि आकांक्षी धेरै भएकोले छलफल गरी एक जना मात्रै उम्मेदवार बनाउने तयारी छ। त्यसका लागि नेताहरूले छलफल सुरू गरेका छन्।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आज अपरान्ह ४ बजे बैठक राखेका छन्। उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि बोलाइएको छ।
बैठकमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, रामशरण महत, शेखर कोइराला र सुजाता कोइरालालाई पनि बोलाइएको केसीको सचिवालयले जानकारी दिएको छ। शशांक, प्रकाशमान, शेखर र सुजाता पनि सभापतिका लागि आकांक्षी छन्।
वरिष्ठ नेता पौडेलले पनि सभापतिमा आफू हुनुपर्ने बताइरहेका छन्। १३ औं महाधिवेशनकै घाइते आफू रहेकोले अहिले सभापति हुनुपर्ने दाबी उनको छ।
सभापति देउवालाई हराउन आफूले मात्रै सक्ने दाबी शशांकको छ। शेखरले पनि सभापतिमा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन्। उनी १३ औं महाधिवेशनदेखि नै सभापतिका लागि तयारी गरिरहेका छन्।
कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ। वडा अधिवेशन भने साउन १२ गते हुनेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij