प्रकाशित मिति : शनिबार, पुस २३, २०७३
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले एक साता लामो तराई–मधेशका जिल्लाको भ्रमण शुरु गरेका छन् । शनिवारबाट शुरु भएको उनको भ्रमण पुस २९ गतेसम्म रहनेछ ।
धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाको भ्रमणमा मन्त्री लेखक विकास निर्माणसम्बन्धी कार्यक्रमहरुमा सहभागी हुनेछन् । त्यसवीचमा मन्त्री लेखकले पार्टीका आन्तरिक कार्यक्रममा पनि सहभागिता जनाउने उनको सचिवालयले जनाएको छ ।
उनले आफ्नो जिल्ला दौडाहका क्रममा महत्वपूर्ण मानिएको हुलाकी राजमार्गको तीन ठाँउमा शिलान्यास गर्नेछन् । सर्लाहीको बडहरवा–छतौनामा, महोत्तरीको माइस्थान–गौशाला खण्ड र बारामा मानमद–मटिअर्वा हुलाकी सडक खण्डको शिलान्यास गर्नेछन् ।
लामो समयदेखि हुलाकी राजमार्र्ग निर्माणको चर्चा भएपनि कामले गति लिन नसकिरहेको बेला मन्त्रीले तीन ठाँउबाट यसको शिलान्यास गर्न थालेका हुन् । पूर्व–पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमि दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो ।
हुलाकी राजमार्गको निर्माण सम्पन्न भएपछि नेपाललाई पूर्वदेखि पश्चिमसम्म जोड्ने ३ वटा राजमार्ग हुने छन्। पहिलो पूर्व(पश्चिम राजमार्ग, दोस्रो मध्यपहाडी राजमार्ग र तेस्रो हुलाकी राजमार्ग।
२०१५ को आमनिर्वाचनमा कांग्रेसले हुलाकी सडक निर्माण गराउने प्रतिबद्धता व्यक्त गरेको थियो । बीपी कोइराला नेतृत्वको सरकारले यसको शिलान्यास पनि गरेको थियो । तर, काम भने अगाढि बढन सकेन ।
यसबाहेक मन्त्रीले भ्रमणका क्रममा सर्लाहीमा संग्रामपुर–नारायणपुर पलका शिलान्यास गर्नेछन् । पर्सा र पिपरवीच सपाह खोला पुल, पर्सा र धनाकौल–डुमरिया सडक हुँदै सागरनाथ सडकको कालोपात्रे कार्यको शिलान्यास पनि मन्त्रीको कार्यसूचिमा छ । त्यसबाहेक उनले यहँ सखुवा–सपाह खोलामा पुल शिलन्यास, मनुस्मारा पुल शिलान्यास, नयाँरोड– बर्थहवा–मधुवनी सडक निरीक्षणलाई पनि कार्यसूचिमा राखेका छन् ।
रौतहतमा पुगेर मन्त्री लेखकले चन्द्रपुर–गौडातार पुल शिलन्यास, कोटिया–बर्मटोल पुल शिलन्यास, टरहरी पुल शिलान्यास, बाग्मती पुल (माधवपुर, डडौरिया) शिलान्यास गर्नेछन् ।
कटहरी–धन्सार सडक निरीक्षण, जनकपुर–भिथामोड सडक निरीक्षण, जनकपुर–जधुपुवा सडक शिलान्यास, वीरेन्द्रबजार–जधुपुवा–मैनाथपुर सडक शिलान्यास पनि मन्त्रीको कार्यसूचिमा छ । त्यसबाहेक जनकपुरमा रेल्वेको निरीरक्षण पनि हुने उनको सचिवालयले जनाएको छ ।
यस अघि विकास निर्माणसँग सम्बन्धित परियोजनामा मन्त्रीले चासोपूवर्क काम गरेका छन् । उनले फास्ट ट्र्याकका निर्माण भारतीय कम्पनीलाई दिने पूर्ववत निर्णय रद्द गराउने निर्णयमा भूमिका खेलका थिए । केही दिन अगाडि मात्र उनले कान्तिलोकपथको अवलोकन तथा निरिक्षण गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij