प्रकाशित मिति : आइतवार, पुस २४, २०७३
रुपन्देही । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले संविधान संशोधन प्रस्ताव संसद्बाट पास नहुने स्पष्ट पारेका छन् ।
संविधान कार्यान्वयन नगरी जनताको आवश्यकताबिना ल्याएको संशोधन प्रस्ताव पास नहुने भन्दै उनले तर निर्वाचन भने हुने बताए ।
बुटवलको मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी)को १०औँ साधारणसभा तथा फूलबारी एनिमल कर्नरको आज उद्घाटन गर्दै पौडेलले अनुचित रूपमा ल्याइएको संशोधन प्रस्तावविरुद्ध आवश्यक सङ्ख्या आफूहरूसँग रहेको बताए ।
उनले संशोधन प्रस्ताव रोकेर निर्वाचनमा जाने भन्दै आफूहरुसँगै संशोधन विधेयक रोक्ने पूर्ण सङ्ख्या रहेको प्रष्ट पारे । एमालेसहित विपक्षी मोर्चाले शुक्रबार काठमाडौँमा संविधान संशोधनविरुद्ध विशाल जनप्रदर्शनसमेत गरेको थियो ।
रूपन्देही क्षेत्र नं ४ का संसद्समेत रहेका नेता पौडेलले सरकार संविधान संशोधनको नाममा निर्वाचनलाई टारेर अविच्छिन्न सत्ता टिकाउने खेल खेल्न थालेको आरोप लगाए ।
पूर्व अर्थमन्त्रीसमेत रहेको नेता पौडेलले अबको राजनीति विकास र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उनले इमान्दारिता र विकासलाई व्यवहारमा कार्यान्वयन गरेमा मुलुक अबको पाँच वर्षमा समृद्ध बन्न सक्ने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij