प्रकाशित मिति : आइतवार, पुस २४, २०७३
उदयपुर । उदयपुरको हर्देनीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका हर्देनी ४ लिलबहादुर कार्कीको आज मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो ।यसअघि दुर्घटनास्थलमा २ जनाको मृत्यु भएको थियो ।
हर्देनी ४ गहुँबारीमा भएको जीप दुर्घटनामा जीप धनीको समेत मृत्यु भएपछि घाईतेको उपचार सरकारले गर्ने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सवारी धनीको मृत्यु हुदाँ उपचार प्रभावित भएकोले गृह मन्त्रालयले घाईतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको उदयपुरका माओवादी केन्द्रकी सभासद भेष कुमारी राउतले जानकारी दिइन् ।
‘गाडी धनीको मृत्यु भएर घाईतेका उपचारमा समस्या भएपछि गृह मन्त्री समक्ष घाईतेको उपचारमा समस्याको बारेमा कुरा राखेको छु ।’ सांसद राउतले भन,े ‘गृह मन्त्री बिमलेन्द्र निधीले घाईतेको सम्पुर्ण उपचार सरकारले गर्ने भनि प्रतिवद्धता व्यक्त गरेका छन् ।’
घाइतेमध्ये २ जनाको काठमाण्डौ र अन्य ४ जनाको विराटनगरमा उपचार भई रहेको छ ।
सवारी दुर्घटना हुँदा मृत्यु भएकालाई क्षतिपूर्ति दिने र घाइते भएकाको उपचार गर्ने खर्च सवारी मालिकले व्यहोर्ने नियम छ । तर दुर्घटनामा जीप साहुकै मृत्यु भएपछि उपचारमा पैसाको अभाव मात्रै भएको थिएन, उपचारका लागेको खर्च कसले व्यहोर्ने भन्ने समेत अन्यौल समेत भएको थियो ।
शुक्रबार बेलुका कटारी बजारबाट गोठडाँडा जादैं गरेको स १ ज ४०९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा जीप मालिक टंक बस्नेत र ३२ वर्षीय भीमकुमारी राउतको मृत्यु भएको थियो । भने हर्देनी–४ का विष्णु बहादुर राउत, सन्तोषी बस्नेत, भेषराज राउत, विमल बस्नेत, लिलबहादुर कार्की र एलिना श्रेष्ठ गम्भिर घाईते भएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij