आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

स्वामी रामानन्द : सामाजिक पुनर्जागरणमा समर्पित योगी

  • प्रकाशित मिति : शनिबार, साउन ९, २०७८



  • डा. स्वामी रामानन्द गिरिको नाम नसुन्ने कमै हुनुपर्छ । खासगरी आध्यात्मिक क्षेत्रका उज्जवल नक्षत्र मानिने गिरिको आध्यात्मिक साहित्य र शिक्षामा विशेष योगदान छ । तनहुँ जिल्लाको देवघाटमा अवस्थित महेश गुरुकुल र महेश सन्यासाश्रमको स्थापना उनैले गरेका हुन्, जहाँ बर्सेनि कक्षा ६ देखि आचार्यसम्मका ३५० भन्दा बढी विद्यार्थीले आवास र भोजन सहितको शिक्षा प्राप्त गर्दै आएका छन् । गुरुकुलमा संस्कृत र अङ्ग्रेजी दुवै विषयको पढाइ हुने गरेको छ तर तिनै गुरुकुल र आश्रमका संस्थापक स्वामीका बाल्यजीवन भने निकै अभाव र कहाली लाग्दो देखिन्छ । यस आलेखमा उनै स्वामीजीका व्यक्तित्व र कृतित्वबारे केही उल्लेख गर्ने प्रयास गरिएको छ ।

    स्वामीजीको जन्म विक्रम संवत् २००३ साल जेठ १० गते धादिङ जिल्लाको केवलपुर भन्ने स्थानमा भएको हो । निम्न मध्यमवर्गीय ब्राह्मण परिवारमा जन्मेका गिरिजीको खास नाम रामप्रसाद सुवेदी हो । उनले २०४५ सालतिर भारतीय सन्यासी अनन्त विभूषित महामण्डलेश्वर महेशानन्द गिरिजी महाराजबाट सन्यास दीक्षा लिएका थिए । त्यसपछि रामानन्द गिरिको नामले चिनिन थालेका हुन् । उनको बाबुको नाम क्रमशः पूर्णप्रसाद सुवेदी र आमाको नाम तिलकुमारी सुवेदी थियो । २०३० सालमा वाल्मीकि क्याम्पसबाट शाङ्करवेदान्तमा सर्वोत्कृष्ट अङ्क ल्याई आचार्य गरेपछि अध्यापन र प्रवचन क्षेत्रमा लागेका स्वामीजीले २०४१ सालमा त्रिभुवन विश्वविद्याबाट जनक दर्शनमा विद्यावारिधि गरेका थिए । विलक्षण प्रतिभाका धनी यी नेपाली सन्यासी तीन वर्षको उमेरमा आमा र १० वर्षको उमेरमा बाबु बितेर टुहुरो बन्न पुगेका थिए ।

    मातृपितृ विहीन टुहुरो भदा  (दाजुको छोरा) को प्रतिभा र पढाइप्रतिको उत्कट चाहना देखेर काठमाडौँ डल्लु निवासी दिदी (फुपु) ले निच मार्न सकिनन् र आफ्नै घरमा ल्याएर रानीपोखरी संस्कृत मावि तत्कालीन संस्कृत तीनधारा पाठशालामा पठनपाठको व्यवस्था मिलाइदिएकी थिइन् । उनले त्यहीँबाट पूर्वमध्यमा पास गरेका हुन् । संस्कृत पाठाशालामा निशुल्क पढाइ हुने भए पनि परीक्षाका लागि केही शुल्क बुझाउनुपथ्र्यो । उनलाई त्यही जुटाउन पनि गाह्रो प¥यो । त्यसैले थप पढाइका लागि उनी वनारसतिर लागे । खाना बस्न र पढ्न पैसा नलाग्नु नै उनको वनारस आकर्षणको कारण थियो ।

    वनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट उत्तरमध्यसम्मको पढाइ पूरा गरी पुनः काठमाडौँ फर्किए । उतै बस्ने र पढ्ने उद्देश्यले वनारसतिर लागेका भए पनि प्रतिकुल स्वस्थ्यका कारण लामो समय त्यता बस्न सकेनन् । हावापानी नमिलेर केही समयपछि नै बिरामी पर्न थाले । उनले आफ्ना भक्तहरूमाझ वनारसमा बस्दा टाउको दुखेर यति पीडा हुन्थ्यो कि कहिले त गङ्गामा झ्वाम्म फालहालौँ जस्तो हुन्थ्यो भन्ने गरेका पंक्तिकारले नै  सुनेको कुरा हो । जे होस् स्वास्थ्यले साथ नदिएपछि काठमाडौँ फर्केर सिनामङ्गलस्थित प्रकाश सन्यासाश्रममा रहन लागे । सोही आश्रममा बसेर शास्त्री र आचार्य पास गरे । यस बाहेक विभिन्न शैक्षिक संस्थामा पढाउने कामसमेत गरेका थिए । केही समय वाल्मीकि क्याम्पसमै पनि पढाउन भ्याएका थिए । प्रकाश सन्यासाश्रममा आफ्नो स्वभाव अनुसारको रहनसहन नमिलेपछि गौरीघाटस्थित सोमसरला आश्रममा आएर रहन लागे ।

    सोमसरला आश्रमको बसाइले उनको जीवनलाई अर्कै मोड दियो । आश्रममा बस्दा पठनपाठन तथा प्रवचन आदिको काम गर्थे । उनको अद्वैत वेदान्तमा राम्रो पकड थियो । एउटै विषयमा घन्टौँ धराप्रवाह बोल्न सक्थे । विषयमा पकड, बोलीमा कमान्ड र  शैलीमा मिठासका कारण प्रवचन सुन्ने भक्तहरूको सङ्ख्या क्रमशः बढ्दै जान थाल्यो । तिनै भक्तहरूले दान दक्षिणामा स्वरूप दिएका रकममा आफूले पढाएको पैसा थपथाप गरी २०५० सालमा देवघाटमा एउटा सानो गोठ किनेर गुरुकुल आश्रम चलाउन लागे । गोठको माथिल्लो तलामा आफू बस्थे र तल केही विद्यार्थी जम्मा गरी पढाउने गर्थे । त्यतिबेला किनेको चारआना जग्गामा बनेको गोठ रहेको स्थान त्यही हो, जहाँ हाल भव्य महेश सन्यास गुरुकुल र आश्रम खडा भएको छ । कुल ७० रोपनी जग्गामा फैलिएको यस आश्रममा आकर्षक उद्यान र विद्यालय तथा छात्रावास भवन र पाकशाला निर्माण गरिएको छ । आश्रममा छिर्नासाथ आकर्षक शैलीमा बनेको विद्येश्वर महादेवको मन्दिर र हवनकुण्ड देखापर्छ, जहाँ नित्य हवन तथा पूजा, आरति, वेद ध्वनि र शङ्खध्वनि चल्ने गर्छ ।

    देवघाट बाहेक स्वामीजीका संरक्षकत्वमा दमौलीमा समेत गुरुकुल आश्रम सञ्चालित थियो छ । यहाँका विद्यार्थीहरूले पनि देवघाटमा जस्तै भोजन र आवास सहितका शिक्षा प्राप्त गर्दै आएका छन् । यस बाहेक हंसदा योगाश्रम काभ्रे, महर्षि गुरुकुल वेदविद्याश्रम पोखरा, परासर आश्रम दमौली, प्राणिनि आश्रम स्याङ्जा र गौरीशङ्कर विद्यापीठ झापा आदिको संरक्षकको दायित्वसमेत सँगै निर्वाह गरेका थिए । २०५६ सालतिर पशुपतिनाथ मन्दिरको पश्चिम ढोका नजिक रहेको शङ्कराचार्य मठको समेत संरक्षकको दायित्व उनकै काँधमा आयो । त्यसपछि भने प्रायः यहीँ रहन लागे र मठकै छेउमा प्रवचन कक्ष निमार्ण गरी प्रवचन कार्यक्रमलाई निरन्तरता दिए । यहीँ रहेर वेदान्तको स्वाध्याय गर्दागर्दै २०६४ साल असार २४ गते गुरु पुर्णिमाको दिन (आजकै दिन) ब्रह्मलीन भए । उनको पार्थिव शरीरलाई भक्तहरूले देवघाट लगेर वैदिक विधिपूवर्क अन्त्येष्टि संस्कार गरे । हाल महेश सन्यास आश्रम र गुरुकुलको नेतृत्व उनकै उत्तराधिकारी स्वामी रमणानन्द गिरिले गरिरहेका छन् ।

    हमेशा पढ्नु र पढाउनुभन्दा उत्तम काम अर्को छैन भन्ने स्वामी रामानन्द गिरिका दर्जनौँ आध्यात्मिक कृति प्रकाशिछन् । तिनमा जनक दर्शन, माण्डुक्योपनिषद् नेपाली अनुवाद तथा व्याख्या, रामगीता एवं देवीगीता नेपाली अनुवाद तथा व्याख्या, दुर्गासप्तशती, ईशादि दश उपनिषद् नेपाली अनुवाद तथा व्याख्या मुख्य पर्छन् । एउटा विपन्न परिवार जन्मेर टुहुरो जीवन व्यतीत गर्दै आएका स्वामीजीले शिक्षा तथा आध्यात्मिक जागरणका क्षेत्रमा जति गरे एउटा औषत मानिसले गर्न सक्ने भन्दा बढी गरे । त्वदीयं वस्तु गोविन्द भन्ने आर्ष वाक्यका अनुयायी स्वामीजीले जति गरे समाजकै लागि गरे, जति लिए समाजबाटै लिए र समाजलाई नै दिएर अनन्तको गति सुधारे । आज उनको पार्थिव शरीर हामी माझ छैन तर उनले बालेका आध्यात्मिक पुनर्जागरणको दियो भने कहिल्यै ननिभ्ने गरी बलिरहेको छ र आशा छ बली नै रहनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij