आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार

  • प्रकाशित मिति : मङ्लबार, साउन १२, २०७८



  • म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रमअनुसारको पुस्तक छपाइ गरेर नयाँ शैक्षिक सत्रदेखि पठनपाठन गराउन लागिएको हो। नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकतानुसार लागू गर्ने अधिकार दिएको छ। उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन।

    गाउँ शिक्षा ऐनअनुसार पाठ्यक्रमको मस्यौदा कार्यपालिका बैठकबाट पारित गरी पुस्तक छपाएर लागु गर्न लागिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए। “मौलिक विषयवस्तुमा आधारित कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम तयार भएको छ”, उनले भने, “स्थानीय पाठ्यक्रमअनुसार कक्षा १ को पुस्तक बनाई छापेर विद्यालयहरुलाई वितरण गर्दैछौँ ।” एक सय पूर्णाङ्कको पुस्तकमा १४ वटा एकाइ छन्।

    पुस्तकमा गाउँपालिकाको परिचय, सामाजिक संस्कार, संस्कृति, धार्मिक स्थलहरु, विकासका पूर्वाधार र हरित विद्यालय, प्राकृतिक स्रोत र सम्पदा, प्राकृतिक प्रकोप, पर्यटन, परम्परागत प्रविधि, पेशा, उद्यमशीलता र सुखी जीवन, ट्राफिक र सडक रेखासम्बन्धी शिक्षालाई समावेश गरिएको छ।

    यसैगरी नैतिकतासहितको जीवनोपयोगी शिक्षा, स्थानीय खेलकुद, स्थानीय आदर्श व्यक्तिहरु र समसामयिक विषयवस्तुलाई समेटिएको पुस्तकको पाठ्यभार घण्टा १६० घण्टा छ। पुस्तकमा सत्तरी प्रतिशत चित्र र ३० प्रतिशत शब्द राखिएको छ। ट्राफिक नियमलाई पनि पुस्तकमा राखिएको छ।

    ‘हाम्रो गाउँपालिका’ नाम राखिएको कक्षा १ को एक हजार प्रति पुस्तक छपाइ भएको छ। पालिकाभरका ३६ वटा सामुदायिक विद्यालयका कक्षा १ मा २५० जनाको हाराहारीमा विद्यार्थी छन्। गाउँपालिकाले गत आर्थिक वर्षमा पाठ्यक्रम निर्माणका लागि रु तीन लाख र पुस्तक छपाइ गर्न रु चार लाख ९८ हजार बजेट विनियोजन गरेको थियो।

    गाउँपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति भरत पुनले पाठ्यक्रम निर्माणका लागि विनियोजन भएको सबै बजेट खर्च नभएको बताए। उनले आगामी वर्षका लागि पनि आवश्यक पर्ने कक्षा १ को पुस्तक यसै वर्ष छपाइ गरेको बताए। आगामी वर्ष कक्षा २ र ३ को पनि पुस्तक तयार पारेर लागु गर्ने गाउँपालिकाले जनाएको छ। शिक्षा शाखाका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा सरोकारवालाहरुको सहभागितामा पाठ्यक्रम र पुस्तक निर्माण भएको हो।

    शिक्षा अधिकृत कटुवालको संयोजकत्वमा विषय समिति र स्रोत व्यक्ति पुनको संयोजकत्वमा पाठ्यक्रम निर्माण तथा मस्यौदा समिति गठन भएको थियो। गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओम फगामीले संविधानले दिएको अधिकार प्रयोगसँगै बालबालिकाले आफ्नो पालिकाको बारेमा जान्ने र बुझ्ने अवसर पाउने बताए। “स्थानीय पाठ्यक्रम लागु भएपछि पालिकको मौलिकपन पनि बढ्ने छ”, उनले भने, “धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्रका बारेमा बालबालिकाले जान्ने र बुझ्ने अवसर पाउनेछन् ।” यसअघि बेनी नगरपालिकाले गत वर्ष जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम र पुस्तक तयार पारेर लागु गरेको थियो।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij