बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पुनःसंरचना आयोगको प्रतिवेदनको विरोधमा खोटाङमा आन्दोलन

  • प्रकाशित मिति : मङ्लबार, पुस २६, २०७३



  • खोटाङ । स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन गरेको सिफारिसको विरोधमा खोटाङमा चार दिनदेखि गरिएको सडक बन्दका कारण हजारौँ यात्रु मारमा परेका छन् ।

    खोटाङको गाउँपालिका र नगरपालिकाको सूचीमा प्रस्ताव नै नगरिएको गाउँपालिकाको नाम आएपछि त्यसलाई सच्याउन माग गर्दै विरोधमा उत्रिएका बुइपा, राजापानी, विजयखर्क, नुनथलालगायतका स्थानीयवासीले गरेको सडक बन्दका कारण यात्रु मारमा परेका हुन् ।

    रेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा गाउँपालिका बनाउन सिफारिस गरिएकोप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकको नुनथला खण्ड गत शनिबारदेखि अनिश्चितकालका लागि बन्द गरेका छन् ।

    सडक बन्दका कारण दिक्तेल–जयराम तथा सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडकमा यात्रु तथा मालबाहक सवारी साधन ओहोरदोहोर गर्न पाएका छैनन् । राजधानीलगायतका सहर आवतजावत गर्ने एकमात्र सडक दिक्तेल–जयराम सडक बन्द भएपछि यात्रु पैदल यात्रा गर्न बाध्य छन् ।

    बन्दकर्ताले जयराम–हलेसी हुँदै दिक्तेल भित्रिने सवारी साधनलाई बिजुलेभन्दा भित्र छिर्न दिएका छैनन् भने सदरमुकाम दिक्तेलबाट जाने सवारी साधनलाई पनि हुर्लुङभन्दा बाहिर अगाडि बढ्न दिएको छैन ।

    दुवैतिरको सवारी साधन अघि बढ्न नपाएपछि यात्रु हिँडेरै बिजुले–हुर्लुङ सडक पार गर्न बाध्य छन् ।

    मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडक बन्दले उदयपुरको गाईघाटलगायतका पूर्वी सहर आवतजावत गर्ने यात्रु पनि अलपत्र परेका छन् ।

    सोमबार दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको ना४ख ६२०० नंको ट्रक तोडफोड भएपछि त्यसयता दिक्तेलबाट कुनै पनि सवारी साधन छुटेका छैनन् ।

    दिक्तेलबाट हिँडेका कतिपय यात्रु बन्दका कारण बाटैबाट फर्किरहेका छन् ।

    बन्दका कारण बिरामी, चाँडो गन्तव्यमा पुग्नुपर्ने तथा गह्रौँ भारीसहितका यात्रु बढी मारमा परेका छन् । जिल्ला अस्पताल दिक्तेलबाट आकस्मिक रुपमा पठाउने गरेका बिरामी हेलिकप्टर चार्टर गर्न वा हवाई जहाज प्रयोग गर्न बाध्य बनेका छन् ।

    बिरामी बोकेका सवारी साधनलाई भने बन्दमा अवरोध नगरिएको सङ्घर्षरत विद्यार्थी नेता ओमप्रकाश घिमिरेले बताए । भूकम्पपछिको पुनःनिर्माणका लागि लगत सङ्कलन गर्न सोमबार जिल्ला भित्रिएका पुनःनिर्माण प्राधिकरणका इन्जिनियरसमेत सडक बन्दका कारण बिजुलेमा अलपत्र परेका थिए ।

    यद्यपि, इन्जिनियरको टोलीलाई भने मङ्गलबार प्रशासनको आग्रहमा गाडीमै प्रवेश दिइएको सङ्घर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताए ।

    स्रोतका अनुसार आयोगका सदस्य डा श्याम भुर्तेलले काठमाडौँ बस्ने केही नेताको लहैलहैमा सिफारिस नै नभएको गाउँपालिका तयार पारेपछि विरोध आएको हो । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति तथा सर्वदलीय बैठकले खोटाङबाट हलेसी तुवाचुङ र रुपाकोट मझुवागढी नगरपालिका तथा महुरेगढी, ऐसेलुखर्क, केपिलासगढी, जन्तेढुङ्गा, खोटेहाङ, दिप्रुङ, साकेला र बराहपोखरी गाउँपालिका बनाउन प्रस्ताव गरेकामा आयोगले महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाएर सरकारलाई सिफारिस गरिदिएपछि स्थानीयवासीले आन्दोलन सुरु गरेका हुन् ।

    जिल्लाबाट प्रस्तावित महुरेगढी गाउँपालिकालाई यथावत् कायम नगरिएसम्म आन्दोलन जारी रहने सङ्घर्ष समितिका सदस्य एवम् युवा सङ्घका जिल्ला अध्यक्ष दिनेश राईले बताए ।

    आयोगले बेग्लै गाउँपालिकाको खाकाको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाएको विरोधमा आन्दोलनमा उत्रिएका स्थानीयवासीले आइतबार दिक्तेलमा जुलुस निकाल्नुका साथै महुरेगढी नगरपालिकालाई यथावत् कायम गर्न स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिसमक्ष ध्यानाकर्षणपत्र बुझाएका थिए ।

    लामो विवाद र छलफलपछि टुङ्ग्याएर पठाइएको स्थानीय तहको खाकालाई काठमाडौँमा बस्ने केही नेताले पहुँचका भरमा परिवर्तन गराएको भन्दै खोटाङका नेतासमेत आक्रोशित बनेका छन् ।

    जिल्लाको सिफारिसलाई लत्याएर सरकारलाई बुझाइएको आयोगको प्रतिवेदनले आफूहरुलाई ‘बेकम्मा’ बनाइदिएको भन्दै जिल्लास्थित राजनीतिक दलका नेताहरु असन्तुष्ट बनेका हुन् ।

    महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाइएको विरोधमा आन्दोलनमा उत्रिएका स्थानीयवासीकै पक्षमा दलले संयुक्त विज्ञप्ति जारी गर्न छलफल भइरहेको नेपाली काँग्रेसका जिल्ला सभापति नरेश श्रेष्ठले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij