प्रकाशित मिति : शनिबार, माघ १, २०७३
बैतडी । सुदूरपश्चिममा आज काग तिहार मनाइँदैछ । यमपञ्चकमा कागको पूजा गर्ने प्रचलन रहिआए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज फरक ढङ्गले काग तिहार मनाइन्छ ।
स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाडलाई माघे सङ्क्रान्ति पनि भन्ने गरिन्छ । ‘नर’ भनेको मानिस र ‘हरि’ भनेको भगवानमा लीन हुनु अथवा उपासना गर्नु हो । महिनाको सुरुआत भएकाले माघे सङ्क्रान्तिलाई नरहरि भनिएको बताइएको छ ।
सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । उक्त खानेकुरा माघे सङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन छ ।
धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्छन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पं जयानन्द भट्टले बताए । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास अहिले पनि छ । उनले भने “काग तिहारमा भने यी सबै नकारात्मक मान्यतालाई बिर्सिएर कागको पूजा गरिन्छ ।”
कागलाई यमराजको सन्देशवाहकका रुपमा पनि पूजा गरिन्छ । त्यही भएर चर्को आवाज निकालेर कराउने यस चरालाई काग तिहारबाहेक अरु बेला भने अशुभ र अशुद्ध पक्षीका रुपमा लिइन्छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन छ । कागले पुस १५ गते तीर्थमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास छ ।
काग अत्यन्तै चलाख सर्वभक्षी प्राणी हो । काग तिहारमा कागलाई पुज्नुका विभिन्न महत्व र कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता छ । अर्कातर्फ यसले अन्नबालीमा लाग्ने किरा–फट्याङ्ग्रा र सबै प्रकारका मांसजन्य फोहर खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा मानिन्छ ।
त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागले लगेर लुकाएको रोटीलाई मानिसले ब्याउने गाईलाई खुवाए बाच्छी सप्रिने समेत विश्वास छ ।
माघे सङ्क्रान्तिमा कागलाई मीठा खानेकुरा खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता छ । पार्वतीले शिवलाई पति पाऊँ भनेर माघ महिनामा व्रत बसेकी हुनाले पनि यस महिनालाई धार्मिक महिना मान्ने प्रचलन हो ।
सुदूरपश्चिमेलीले मनाउँदै आएका मौलिक चाड पर्वमध्येको एक चाड माघे सङ्क्रान्तिअर्थात् पुसे तिहारका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिस घर फर्किने गर्छन् भने विवाहित महिला माइत जाने गर्छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij