पुरातत्व विभागले रानीपोखरी बीचको बालगोपालेश्वर (जमलेश्वर) मन्दिर पुनःनिर्माण गर्ने भएको छ ।
प्राचीन महत्व बोकेको उक्त सम्पदालाई पुरानो स्वरुप कायम हुने गरी भूकम्प प्रतिरोधी बनाइनेछ ।
यसअघि काठमाडौँ महानगरपालिकाले रोडा, कङ्क्रिट र सिमेन्टको प्रयोग गरेका कारण विभागले त्यो प्रक्रियालाई स्थगन गरी आफँै बनाउन लागेको हो । विभागले सो मन्दिर पुनःनिर्माणका लागि ठेक्का प्रक्रिया केही दिनमा सुरु गरी दुई महिनाभित्र काम सुरु गर्ने जनाएको छ ।
विभागअन्तर्गत इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरेले काम सुरु गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिए। करिब एक करोड ४० लाखको लागतमा मन्दिरको निर्माण पूरा गरिनेछ । राजा प्रताप मल्लका पालामा निर्माण गरिएको सो मन्दिर समय समयमा सामान्य मर्मत तथा जीर्णोद्धार गरिए पनि गत वर्षको भूकम्पका कारण ठूलो क्षति भएपछि पुनःनिर्माण गर्न लागिएको हो ।
रानीपोखरी तथा त्यस वरपरका क्षेत्रका अन्य जीर्णोद्धार तथा मर्मत भने काठमाडौँ महानगरपालिकाले नै गर्नेछ ।