
नेपाल अण्डा उत्पादक संघले आजदेखि लागू हुनेगरी अण्डाको मुल्य घटाएको छ।
यसअघि अण्डाको फार्म मूल्य प्रतिक्रेट ३५५ र बिक्री मूल्य ३६५ रहेकोमा आजदेखि घटेर क्रमशः ३४५ र ३५० कायम भएकोछ। त्यस्तै मिडियम अण्डाको फार्म मूल्य प्रतिक्रेट ३४० र बिक्री मूल्य ३५० रहेकोमा अब क्रमशः ३२५ र ३३० कायम भएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले जानकारी दिए।
प्रतिक्रेटमा अण्डाको मूल्य घटे पनि गोटामा किन्नेलाई भने राहत नहुने भएको छ। हाल खुद्रा व्यापारीले प्रतिगोटा १५ रुपैयाँमा अण्डा बेच्दै आएका छन्। ‘जाडो महिनामा स्कुल कलेज बिदा हुने र स्वस्थानीको ब्रत पनि सुरु भएकाले अण्डाको माग घट्दा मूल्य पनि घटाउनु परेको हो’ केसीले सेतोपाटीसँग भने ।
घटेको मूल्यबाट अण्डा व्यवसायीहरुलाई घाटा नपर्ने चितवनका कुखुरा–अण्डा व्यवसायी शिवहरी भण्डारीले बताए। ‘अण्डाको मूल्य घटेर प्रतिक्रेट ३०० भन्दा कम हुन थाल्यो भने किसान पनि मारमा पर्छन्, अहिले तोकिएको मूल्यप्रति असहमति छैन’ उनले भने।
अहिले अण्डाको मूल्य घटे पनि मूल्य भने विगतका तुलनामा उच्च रहेको व्यवसायीहरु बताउँछन्। भूकम्प र नाकाबन्दीपछि निकै कमले लेयर्स कुखुरा पालेको र त्यही कुखुराको उत्पादनले बजार धान्नुपर्ने हुँदा अण्डाको भाउ बढेको उनीहरुले बताए।