मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नि:शुल्क औषधि अभाव: रित्तै हात फर्काइन्छन् बिरामी

  • प्रकाशित मिति : बिहिबार, माघ १३, २०७३



  • सुदूरका सरकारी स्वास्थ्य निकायमा सरकारले नि:शुल्क दिने औषधिमध्ये सिटामोल समेत अभाव देखिएको छ । सुगम र दुर्गम क्षेत्रका बिरामी सामान्य औषधि किन्न निजी औषधि पसल धाउन बाध्य छन् । स्वास्थ्य मन्त्रालयले बजेट निकासा गरे पनि सम्बन्धित जिल्लाले औषधि खरिद गर्न ढिलाइ गरेको पाइएको छ । यो खबर आजको कान्तिपुरमा छ ।

    बाजुरको टाँटे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी दुई सातायता तनावमा छन् । दैनिक सय हाराहारी बिरामी आउने उक्त स्वास्थ्य चौकीमा नि:शुल्क घोषणा गरिएका ७० प्रकारका औषधि के सिटामोलसमेत पाइँदैन । ‘सिटामोलसमेत नभएर निजी मेडिकलमा किन्न पठाउँछांै,’ स्वास्थ्य चौकी इन्चार्ज दीपक शाहले भने ।

    ग्रामीण क्षेत्रका सबैजसो स्वास्थ्यसंस्थामा औषधिको चर्काे अभाव छ । डोगडी स्वास्थ्य चौकीमा पनि सिटामोलसमेत छैन । गत महिना डोगडीमा पञ्जासमेत पखालेर पुन: प्रयोग गर्नुपर्ने बाध्यता रहेको खबर सार्वजनिक भएको थियो ।

    बझाङका स्वास्थ्य संस्थामा पनि एक महिनायता औषधिको चरम अभाव छ । नि:शुल्क भनिएका औषधि नै किन्नुपर्ने बाध्यता आएको स्थानीय बताउँछन् । ‘स्वास्थ्यचौकीमा जाँच मात्र गर्छन्, औषधि मेडिकलबाट किनेर खानू भनेर लेखिदिन्छन्,’ मेलबिसौनाकी दुर्गा सिंहले भनिन्, ‘नि:शुल्क पाउने औषधि पनि महँगो तिरेर किन्नुपरेको छ ।’

    जिल्लाका स्वास्थ्यसंस्थामा सिटामोलदेखि अत्यावश्यक एन्टिबायोटिक, मेट्रोनिडाजोल, डाइजिन पनि अभाव रहेको स्वास्थ्यकर्मी बताउँछन् । ठेकेदारहरूले समयमा आपूर्ति नगर्दा अभाव चर्किएको उनीहरूको भनाइ छ । स्वास्थ्यचौकीबाट वितरण गर्ने भनिएका ३५ प्रकारका औषधिमध्ये अधिकांश सकिएका छन् । ‘महिलाले प्रयोग गर्ने आइरन चक्की र परिवार नियोजनका अस्थायी साधनबाहेक सबै औषधि सकिएको छ,’ एक स्वास्थ्य चौकी इन्चार्जले भने ।

    जिल्ला स्वास्थ्य कार्यालय बाजुराले कात्तिकयता ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा औषधि पठाएको छैन । ‘कात्तिकदेखि औषधि गएको छैन,’ कार्यालयका स्टोरकिपर तेजबहादुर साउदले भने, ‘अब पठाउँछौं ।’ औषधि अभावबारे जिल्ला र चौकीका कर्मचारीबीच जुहारी चल्ने गरेको छ । जिल्लाले भने औषधि पर्याप्त रहेको दाबी गरिरहेको छ । ‘हामीले औषधि खरिद गरिसकेका छौं,’ स्टोर किपर साउदले भने । चौकी इन्चार्ज भने माग फारम भरेर पनि रित्तै फर्काएको गुनासो गर्छन् । शाह भन्छन्, ‘अघिल्लो साता औषधि छैन भनेर जिल्लाले रित्तै फर्कायो ।’

    लुटिँदै विपन्न बिरामी
    अधिकांश परिवार विपन्न रहेको बाजुराका बासिन्दा औषधि अभावका कारण उपचारमा समेत लुटिँदै छन् । जिल्ला अस्पताल र ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मी संस्थामा औषधि नभएपछि बिरामीलाई निजी मेडिकल जान सिफारिस गर्छन् ।

    ऋण–कर्जा गरी उपचार गर्नुपर्ने अवस्थाका बिरामीले निजी मेडिकलमा चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ । सदरमुकाम मार्तडीदेखि ग्रामीण क्षेत्रका अधिकांश निजी मेडिकल सञ्चालकले मनपरी रकम असुल्ने गरेका छन् । उनीहरूले चिकित्सकको सिफारिसबाहेक चलाउन नपाइने औषधिसमेत जथाभावी बेचिरहेको पाइन्छ । यसले बिरामीको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । पैसाकै लोभमा सामान्य अवस्थामा चलाउन नहुने सेफट्रयाकजोन लगायतका शक्तिशाली एन्टिबायोटिक औषधि निजी मेडिकलले जुनसुकै बिरामीलाई दिने गरेको स्वास्थ्यकर्मीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij