प्रकाशित मिति : आइतवार, मंसिर २५, २०७९
नेपालगञ्ज । भारतीय दलित साहित्य एकेडेमी (BDSA) ले स्वास्थ्य कार्यालय बाँकेका खोप तथा नसर्ने रोग फोकल पर्सन नरेशबाबु श्रेष्ठलाई यस बर्षको ‘DR. AMBEDKAR EXELLENCY NATIONAL SERVICE AWARD 2022’ प्रदान गरेको छ ।
भारतको नयाँ दिल्लीमा एक कार्यक्रमका बीच भूतपूर्व संघीय सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री डा.शक्ति नारायण जतिया र रेलबे मन्त्री रमेशचन्द्र रातनले देशका विशिष्ट व्यक्तिहरु उपस्थित कार्यक्रमका बीच श्रेष्ठलाई सम्मान गर्दै उक्त अवार्ड प्रदान गरेका हुन् ।
उनलाई लामो समयदेखि दलित, जनजाती लगायत समाजमा पछि परेका तथा सीमान्तकृत नेपाली र विदेशी नागरिकहरुलाई स्वास्थ्य लगायत सामाजिक सेवा प्रदान गरी उक्त समुदायको सेवा र विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल दलित साहित्य एकेडेमी (NDSA) को मूल्यांकनका आधारमा भारतीय दलित साहित्य एकेडेमी (BDSA) ले अवार्ड प्रदान गरेको हो ।

श्रेष्ठले नेपालको दुर्गम जिल्ला हुम्लामा ११ बर्ष सेवा गरी त्यहाँका नागरिकको स्वास्थ्य सेवा प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएका थिए । उनले कोभिड-१९ को विश्वव्यापी महामारीका बेला बाँकेमा रही लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बाँकेमा उपचारका लागि आएका विरामीलाई सहज ढंगले उपचार सेवा पाउन महत्वपूर्ण योगदान पुर्याएका थिए ।
साथै बाँकेका ८ वटै स्थानीय तह र भारतबाट नेपाल भित्रिने व्यक्तिहरुको कोभिड जाँच, आइसोलेसन, क्वारेन्टाइन व्यवस्थापनमा समन्वयात्मक भूमिकाका साथै फ्रन्टलाइनमा रहेर साहसिक र प्रशंसनीय सेवा प्रदान गरेका थिए । श्रेष्ठको उक्त सेवा भावको उच्च मूल्यांकन गर्दै यसअघि समेत राष्ट्रपतिबाट प्रथम जनसेवा श्री (चौथो), नेपाली सेनाबाट प्रधान सेनापति प्रशंसा (COAS Commendation), अकाउण्टविलिटी ल्याबबाट कोभिड हिरो, बास नेपालबाट कोभिड विरुद्धको सम्मान लगायत थुप्रै सम्मान तथा कदरपत्र प्रदान गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij