प्रकाशित मिति : आइतवार, माघ २३, २०७३
पश्चिम म्याग्दीको ताकम गाविस–८ मच्छिममा सडक विस्तारका क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ।
जिविस, म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी भेटिएपछि स्थानीयवासी उत्साहित भएका छन्। घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग गर्ने आकर्षक ढुङ्गा फेला परेको ताकम सिवाङका गिरिप्रसाद छन्त्यालले बताए।
विगतमा समेत गाउँमा प्रयोग गरिएको भए पनि सडक विस्तारका क्रममा ठूलो स्रोत फेला परेपछि स्थानीयवासी दङ्ग परेको छन्त्यालको भनाइ छ। ढुङ्गा खानी भेटिएपछि स्थानीयवासीले रेशम छन्त्यालको संयोजकत्वमा प्रारम्भिक व्यवस्थापनका लागि समितिसमेत बनाएका छन्।
स्थानीयवासीले उत्खननसमेत गर्न थालेका छन्। सडक आसपासका लाखौँ मूल्यका ढुङ्गा भेटिएपछि वार्षिक १० लाख रुपैयाँसम्म दिने तथा सडकका लागि आवश्यक पर्ने डोजर निःशुल्क गरिनेसम्मको प्रस्ताव आएको गाउँलेको भनाइ छ। बस्तीभन्दा टाढा रहेकाले पनि खानी उत्खननमा कुनै असर नगर्ने स्थानीयवासीको भनाइ छ।
ढुङ्गाखानीलाई व्यावसायिक रुपमा सञ्चालन गरी गाउँमा रहेको भूमे निमावि सञ्चालनसहित गाउँको विकासमा खर्च गर्ने सोचमा रहेको स्थानीयवासीको भनाइ छ। सडकका दुवैतर्फ भेटिएका ढुङ्गाको मुदी, मुना, ताकमलगायत क्षेत्रबाट समेत माग आउन थालेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij