प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७३
काठमाडौ । पत्रकारहरुको जिल्ला अधिबेशन हुँदै केन्द्रीय निर्वाचन नजिकिएका बेला माहासंघभित्र सदस्यता विवादले चर्को रुप लिएको छ । नेपाल पत्रकार महासंघका तीनजना केन्द्रीय सदस्यले विभिन्न जिल्लामा महासंघको सदस्यता वितरण गर्दा भागबण्डाको आधारमा गरिएको भन्दै पारदर्शी गर्न माग गरेका छन् । 
मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघका केन्द्रीय सदस्य दीपेन्द्र कुँवर, रोशन पुरी र माधव दुलालले महासंघको सदस्यता वितरणमा महासंघका अध्यक्षलगायतले नियोजित रुपमा धाँधली गरेको आरोप लगाएका छन् ।
उनीहरुले विज्ञप्तिमा भनेका छन् ‘गैर पत्रकारले सदस्यता पाएको र गैर नेपालीले समेत सदस्यता पाएको भनेर व्यापक चर्चा र विवाद छ । तर यो विषय पारदर्शी ढंगले अघि बढ्नुपर्नेमा नेपाल पत्रकार महासंघको केन्द्रमा समेत यसलाई अपारदर्शी ढंगले भागबण्डाका रुपमा अगाडि बढाउने काम भैरहेको छ । को सदस्य बन्दैछ ? त्यो सिंगो केन्द्रीय समितिलाई थाहा छैन ।’
सामान्यतः नयाँ बन्ने सदस्यको सूचि केन्द्रीय समितिमा पेश भएर पारित हुनुपर्ने भएपनि त्यो काम अहिलेसम्म नभएकाले पुरै नियोजित भएको उनीहरुको ठहर छ । जिल्ला अधिवेशन आउन एक हप्ता मात्रै हुन लाग्दा पनि केन्द्रीय समितिमा त्यो सूचि पेश नहुनु, केन्द्रीय सदस्यहरुलाई जानकारी नदिनु तर जिल्लामा पठाइ सकिनुले नेतृत्वको नियत प्रष्ट भएको भन्दै स्वीकार्य नहुने चेतावनी समेत केन्द्रीय सदस्यत्रयले दिएका छन् ।
पुष २७ गते बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकमा महासचिव एवं संगठन विभागका प्रमुख उजिर मगरले नयाँ सदस्यको सूचि ‘पद्धतिगत ढंगले केन्द्रीय समितिमा पेश गर्न नमिल्ने’ बताउनुले त्यसलाई प्रष्ट पारेको जारी विज्ञप्तिमा उल्लेख छ ।
पुस २७ को बैठकमा महासचिवको भनाईको प्रतिवाद गर्दै केन्द्रीय सदस्यहरुले सूचि मागेपछि अध्यक्ष महेन्द्र बिष्टले केन्द्रीय सदस्यले नयाँ सदस्यको प्रस्तावित ‘सूचि पाउने’ बताउँदै भोलि पल्टनै ईच्छुक सदस्यलाई वितरण गरिने बताएका थिए । तर आजसम्म पनि त्यो ‘भोलि नआएको उनीहरुको गुनासो छ ।
‘पुष २७ गतेको बैठकले नयाँ सदस्यताबारे सचिवालयमा छलफल गरी उपलब्ध केन्द्रीय समितिमा छलफल गर्ने निर्णय गरेको थियो र बैठक सकिएपछि उत्पन्न भएको तनाव हल गर्ने सन्दर्भमा अध्यक्ष बिष्टले ‘सूचि दिने र त्यसमा हामीले आप्mनो राय दिने’ सहमति समेत भएको थियो । तर त्यसको कार्यान्वयन भएन, समय घर्काउँदै हामीलाई असहमति राख्ने अधिकार पनि नदिने, सूचि पनि नदिने बरु चुनावको मिति नजिक ल्याएर थकाउने योजना बनाएको हाम्रो बुझाई छ । माघ १० गतेभित्र टुंग्याउने भनिएको सदस्यता आज माघ २५ गतेसम्म आउँदा पनि थाहा नहुनुले त्यसलाई प्रष्ट पार्छ ।’ कुँवर, पुरी र दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले सदस्यता वितरण, अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवको तजबिजी अधिकार हो ? भन्दै हो भने प्रष्ट पारिदिन पनि आग्रह गरेका छन् ।
उनीहरुले पूर्व अध्यक्ष सुरेश आचार्य, विष्णु निष्ठुरी, तारानाथ दाहाल, धमेन्द्र झा, शिव गाउँले, महासचिवहरु ओम शर्मा र पोषण केसी तथा पूर्व केन्द्रीय सदस्य सूर्य थापा, पूर्ण बस्नेत र विनोद ढुंगेल लगायत पूर्व केन्द्रीय सदस्यलाई पहिले पहिले पनि यस्तै हुने गरेको भए जानकारी दिन पनि माग गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij