प्रकाशित मिति : शनिबार, माघ २९, २०७३
पोल्ट्रीको राजधानी चितवनमा पछिल्लो समय पहाडी क्षेत्रमा व्यवसाय विस्तार भइरहेको छ । यहाँका व्यवसायीले अहिले अन्य जिल्लाको पहाडी भूभागमा समेत कुखुरापालन थालेका छन् । बजारबाट कुखुरापालनलाई गाउँ विस्तार गर्नेमध्ये दारेचोक ७ चुम्लिङटारका चन्द्रमणि सापकोटा हुन् ।
पहिले उनको फर्म पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा थियो । अहिले राजमार्गबाट करिब २ किमि माथि पहाडमा सारिएको छ । राजमार्गको व्यवसाय चटक्कै छाडेर उनी पहाड उक्लिएका होइनन् । व्यवसाय सुरक्षित र बलियो बनाउन पहाड छिरेका हुन् । पहाडमा उनको लगानी झन्डै एक करोड पुगिसकेको छ । दारेचोक ७ स्थित कुचुङ गहिरोमा खेर गएको २ बिघा जग्गामा मनकामना पोल्ट्री फर्मको विस्तार गरे । २ वर्षअघि खोर बनाएर लेयर्स कुखुरा राखे ।
अहिले ५ वटा खोरमा १२ हजार लेयर्स कुखुरा छन् । दैनिक ५ हजार गोटा अण्डा उत्पादन हुन्छ । केही कुखुरा हुर्कंदै छन् । थप खोर बन्दै छ । त्यस्तै पहाडमै चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग खोल्ने तयारीमा छन् । ‘आफ्नै गाउँमा केही गरौं भनेर पहाडमा व्यवसाय विस्तार गर्दै छु,’ उनले भने, ‘हावापानी राम्रो छ, राजमार्ग छेउमा रोगको संक्रमण हुने खतरा भए पनि यहाँ व्यवसाय सुरक्षित छ ।’ उनी फागुनभित्र २० हजार लेयर्स कुखुरा बनाउने तयारीमा जुटेका छन् । त्यही भएर धमाधम खोर निर्माण भइरहेको छ ।
यो ठाउँमा बस्ती सानो छ । पाखो जमिनमा खोर छ । ‘पहाडमा व्यवसाय गर्दा सबै कुराबाट सुरक्षित भइन्छ,’ उनले भने, ‘मोटरबाटो पुगेको छ, बजार लग्न समस्या छैन, पहाडमा उत्पादन पनि राम्रो छ ।’ उनी साँझ–बिहान यसको हेरचाह गर्न पुग्छन् । ७ जनालाई रोजगारी दिएका छन् । ‘व्यावसायिक रूपमा कुखुरा पाल्न थालेको दशक भयो,’ उनले भने, ‘अहिले व्यवसाय पहाडमा विस्तार गर्न पाउँदा खुसी छु ।’ पेसाबाट सन्तुष्ट रहेको उनले सुनाए । उनी मात्र होइन । जिल्लाको शक्तिखोर, सिद्धि, कविलासमा धमाधम ठूलो लगानीमा पोल्ट्री फर्म निर्माण गर्ने क्रम जारी छ । केही सुरु भइसकेका छन् ।
त्यस्तै कालिका नगरपालिका १ स्थित दर्बेटारमा ३ युवा मिलेर लेयर्स कुखुरा पालेका छन् । गत साउनबाट उनीहरूले गाउँमा व्यवसाय विस्तार गरेका हुन् । खैरहनी नगरपालिकामा रहेको लक्ष्य पोल्ट्री प्रालिलाई युवाहरू दिनेश श्रेष्ठ, अतुल खनाल, अमोद खनालले पहाडमा विस्तार गरेका हुन् । आफैंले फर्मसम्म मोटरबाटो पुर्याए । पानीको व्यवस्था गरे । अहिले सहज रूपमा व्यवसाय चलाएका छन् । २ वटा खोर छन् । जहाँ ४१ हजार कखुरा छन् । साढे २ बिघा जग्गामा पोल्ट्री फर्म छ । ‘दर्बेटारमा मात्र ६ करोड लगानी भइसकेको छ,’ पोल्ट्री फर्म सञ्चालक अमोद खनालले भने, ‘सिद्धि गाविसमा पनि ४१ हजार नै कुखुरा पाल्ने तयारीमा छौं ।’ अहिले दैनिक ३५ हजार गोटा अण्डा उत्पादन हुने गरेको छ । ‘कुखुरा पाल्नका लागि यहाँको हावापानी राम्रो छ,’ अर्का सञ्चालक अतुल खनालले भने, ‘आधुनिक केज प्रणालीमार्फत कुखुरा पालिएको छ ।’ उनका अनुसार केजमा कुखुरा पाल्दा भुइँमा राख्नु पर्दैन । थोरै ठाउँमा धेरै कुखुरा पाल्न सकिन्छ ।
अण्डा सफा र गुणस्तरीय हुन्छ । सुलीबाट उत्पन्न हुने रोगको समस्या हुँदैन । बजारको समस्या छैन । त्यस्तै शक्तिखोर बजारको कुनामा पनि कुखुरा पालिएको छ । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष शंकर कँडेलका अनुसार पछिल्लो समय पहाडमा कुखुरा पाल्नेको आकर्षण बढेको छ ।
चितवनका व्यवसायीले लमजुङ, गोरखा, धादिङ, तनहुँमा गएर धमाधम व्यवसाय विस्तार गर्न थालेका छन् । ‘खोरका लागि जग्गा धेरै आवश्यक पर्छ, सहरी क्षेत्रमा जग्गा महँगो छ,’ उनले भने, ‘पहाडी क्षेत्रमा जग्गा सस्तो र धेरै आउने हुँदा व्यवसायी त्यता आकर्षित भएका हुन् ।’
उनका अनुसार पहाडमा पोल्ट्री पुग्नु खुसीको कुरा हो । रोगको जोखिम कम हुन्छ । कँडेलले बजार क्षेत्रमा पोल्ट्रीका लागि जग्गा अभाव हुँदै गएको बताए । त्यही भएर सहर केन्द्रित व्यवसाय गाउँतिर विस्तार गर्न थालिएको हो । बस्ती कम भएको ठाउँमा व्यवसालाई राम्रोसँग चलाउन सकिन्छ । ‘सहरी क्षेत्रमा पहिला सस्तोमा जग्गा पाइन्थ्यो, अहिले प्लटिङले गर्दा जग्गा अभाव भएको छ,’ पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराईले भने, ‘त्यही भएर गाउँमा व्यवसाय विस्तार गर्ने व्यवसायीको संख्या बढदै गएको छ ।’
कुखुराका लागि ११ देखि ३३ डिग्री सेल्सियसको वातावरण उपयुक्त हुन्छ । ३६ डिग्रीभन्दा माथिको वातावरण भए उत्पादन घट्छ । ‘पहाडमा जहाँ बाटो, बिजुली र पानी पुगेको छ, त्यो एकदमै उपयुक्त ठाउँ हो,’ उनले भने, ‘जग्गा सस्तो भयो, पहाड भन्नेबित्तिकै तापक्रम कम हुन्छ, उत्पादनको केही खपत त्यहीँ हुन्छ ।’
उनका अनुसार जैविक सुरक्षाको हिसाबले धेरै कुखुरा एकै ठाउँमा भएको भन्दा अलिकति आन्तरिक रूपमा हुँदा एउटा फर्ममा आएको सरुवा रोग अर्कोमा नसर्ने हुन्छ । उनले प्लटिङले गर्दा सहरी क्षेत्रमा जग्गा अभाव र महँगो भएको बताए । ‘जग्गाको मूल्य यति धेरै बढ्यो कि किनेर कुखुरा पाल्न फाइदाजनक नै हुँदैन,’ उनले भने, ‘बिस्तारै पहाडतिर र बाह्य जिल्लामा गएर पोल्ट्री व्यवसायीले व्यवसाय गर्न थालेका हुन् ।’ चितवनमा मात्र पोल्ट्रीमा करिब ३५ अर्ब लगानी छ । ४५ हजारले यसबाट रोजगारी पाएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij