प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७३
भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा बा ८ च ८८३० नम्बरको भ्यानले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
तरकारी बिक्री गरेर फर्कंदै गर्दा मध्यपुरथिमि नगरपालिका– १६ बस्ने ३९ वर्षीय प्रेमकृष्ण महर्जनको भ्यानको ठक्करबाट गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक रेवती पोखरेलका अनुसार भ्यानको ठक्करबाट घाइते महर्जनको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी, आजै भक्तपुरको दुवाकोटस्थित काठमाडाौं मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययन गर्दै आएका १८ वर्षीय अनमोल गौलको मृत्यु भएको छ ।
भारतको जम्मु कास्मिरबाट अध्ययनका लागि आएका गौलको शव कलेजमै झुन्डिएको अवस्थामा फेला परेको उनले जानकारी दिए ।
यता अनन्तलिङ्गेश्वर नगरपालिका–५ दधिकोटमा २४ वर्षीय आशिष मगर आज विहान मृत अवस्थामा भेटिएका छन् ।
खाङसाङ गाविस–६ सिन्धुली घर भई दधिकोट बस्दै आएका मगरको मृत्युको कारण खुल्न नआएको प्रहरीको भनाइ छ । तीनवटै शव परीक्षणका लागि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा लगिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij