प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७३
कैलाली । घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जान वा लास छुन वर्जित रहेको सुदूरपश्चिमको सामाजिक संस्कृतिलाई चिर्दै शनिवार कैलालीको गोदावरी आर्यघाटमा दुई महिलाले संयुक्तरुपमा आफ्ना पतिको चित्तामा दागबत्ती दिएका छन् ।
उनीहरुले सामाजिक परम्परालाई चिर्दै डडेल्धुरा जिल्लाको आलिताल गाविस ६ बलौचाकी २६ वर्षीया जेठी श्रीमती ईश्वरी बोहरा साउँद र कान्छी श्रीमती २० बर्षीया धनमाया गिरी साउँदले आफ्ना श्रीमानको चित्तामा दागबत्ती दिएका हुन् ।
आलिताल गाविस ६ बलौचाका २८ बर्षे मृतक टेकेन्द्रबहादुर साउँदलाई दुवै श्रीमतीले दागबत्ती दिई कैलालीको गोदावरीमा अन्तेष्टी गरिएको हो । एक दिनअघि विष सेवन गरेका मृतक साउदको उपचारकाक्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको थियो । 
जेठी श्रीमतीबाट एक छोरी जन्मिएको र ती अपांग रहेको भन्दै घरपरिवारको सहमतिमा दोस्रो विवाह गरेका साउँदकी कान्छी श्रीमतीबाट भने कुनै सन्तान जन्मिएका थिएनन ।
हाल धनगढी उपमहानगरपालिका वडा नं. ३ बोराडाँडीमा कान्छी श्रीमतिसँगै बस्दै आएका मृतक साउँद सुदूरपश्चिम यातायातको बस चालक रहेका थिए ।
महिला मलामी जाने तथा चित्तामा दागबत्ती दिने प्रचलन नरहेको सुदूरपश्चिममा मृतक साउँदका दुवै श्रीमतीले मिलेर दागबत्ती दिएको खवरपछि समाजले कसरी हेर्ला भन्ने प्रश्नमा उनीहरुले भने– ‘सुरुवात हामीबाट भएपनि बिस्तारै समाजमा जरा गाडेका कुरीति तथा कुसंस्कारलाई सबैले मिलेर हटाउन सक्नुपर्छ ।’
समाजका भद्रभलाद्मीले बृहत् छलफल गरेर श्रीमतीको हातबाट नै मृतक साउँदकोे चितामा दागबत्ती दिनकालागि स्वीकृती दिएको गैरसरकारी संस्था सुआहारामा कार्यरत पशुपति बोहराले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij