प्रकाशित मिति : बिहिबार, फाल्गुन २४, २०८०
पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ र रोकथामका लागि थेरापीसम्बन्धी सचेतना अभियान सन्चालन हुने भएको छ।
मेरी स्टोप्स इन्टरनेसनल नेपाल र अष्ट्रेलिया सरकारको वैदेशिक मामिला तथा वाणिज्य विभागले संयुक्त रूपमा देशभर पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना अभियान सन्चालन गर्न लागिएको हो।
सचेतना अभियान यहि मार्च महिनादेखि शुरु हुने र ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरूलाई लक्षित गरी विभिन्न क्रियाकलापहरू सञ्चालन गरिने बताइएको छ।
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा ठुलो समस्याको रुपमा देखिएको छ। स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार सन् २०२२ मा २ हजार १६९ महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो भने एक हजार ३१३ महिलाले ज्यान गुमाएका थिए।
सचेतना अभियानको पहुँच र प्रभाव बढाउन एनसेल, मेरी स्टोप्स इन्टरनेसनल नेपालको सेन्टरलगायत सामुदायिक सञ्जालको उपयोग गरिने बताइएको छ। यसका साथै, पाठेघरको मुखको क्यान्सर रोकथाम र उपचारको बारेमा महत्वपूर्ण जानकारी प्रवाह गर्न सञ्चारका विभिन्न माध्यमको प्रयोग गरिने बताइएको छ।
क्यान्सरको सचेतनाका लागि आमसञ्चार माध्यमद्वारा व्यापक सचेतना अभियान, प्रभावकारी सूचना सम्प्रेषणका लागि सम्बन्धित सङ्घसंस्थाहरूसँग रणनीतिक साझेदारी, विशेष टक शो, सचेतनामूलक भिडियो निर्माण तथा प्रसारण र एनसेलसँगको सहकार्यमा वाकाथन गर्ने तयारी छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij