बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

यस्तो छ निर्वाचन आचारसंहिता : कुन–कुन सवारी चलाउन पाइने ?

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १८, २०७३



  • काठमाडौं । निर्वाचन आयोगले बुधबारबाट निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । मंगलबार बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आचारसंहिताबारे बुधबार प्रधानमन्त्रीसँग छलफल हुँदै छ ।

    स्थानीय तहमा उम्मेदवारी दिएका व्यक्तिलाई पनि निर्वाचन आचारसंहिता लाग्नेछ । आयोगका अनुसार उम्मेदवारका लागि मनोनयन दर्ता गरेको दिनबाट आचारसंहिता लागू हुनेछ । १६ वैशाख ०७४ मा उम्मेदवारी मनोनयन  छ ।

    बैठकमा गृह मन्त्रालयले तयार गरेको स्थानीय तहको निर्वाचन सुरक्षा योजनाबारे प्रारम्भिक छलफल भएको थियो । सुरक्षा योजना प्रस्तुत गर्दै गृहसचिव लोकदर्शन रेग्मीले केन्द्र, क्षेत्र, जिल्ला (स्थानीय तह)मा सुरक्षा निकायको भूमिका प्रस्ट पारी समन्वय गराउने जानकारी गराएका थिए । छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहमा कार्यरत सुरक्षा संयन्त्रलाई साधन–स्रोत सम्पन्न बनाउन, निर्वाचन आचारसंहिता पालना गराउन निर्देशन पठाउन र स्थानीय तहको निर्वाचनमा महिला सहभागिता बढ्ने भएकाले त्यसैअनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका थिए ।

    कुन–कुन सवारी चलाउन पाइने ?
    महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा दुईवटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल चलाउन पाउनेछन् । वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपांग्रे हलुका सवारीसाधन र एउटा मोटरसाइकल प्रयोग गर्न पाउने गरी आयोगले आचारसंहिता बनाएको छ ।

    त्यसैगरी, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बढीमा एउटा चारपांग्रे हलुका सवारीसाधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न सक्नेछन् । तर, त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सकिनेछ । एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारीसाधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ ।

    कसलाई लाग्छ आचारसंहिता ?
    -नेपाल सरकार र सरकारका मन्त्री
    -स्थानीय निकाय/तह
    -स्थानीय निकाय/तहका कर्मचारी
    -सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी
    -सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी
    -नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा ती निकायमा कार्यरत सुरक्षाकर्मी
    -निर्वाचनको काममा संलग्न कर्मचारी
    -राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन
    -उम्मेदवार तथा सम्बन्धित व्यक्ति
    -सार्वजनिक पद धारण गरेको व्यक्ति
    -पर्यवेक्षक
    -सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम
    -निजी तथा गैरसरकारी संस्था
    -आयोगले तोकेका अन्य निकाय वा व्यक्ति
    -नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी, सार्वजनिक पदधारण गरेको व्यक्ति

    निर्वाचनको जिम्मा सिडिओबाट न्यायाधीशलाई : सरकारले यसअघिका स्थानीय निर्वाचन गराउन प्रमुख निर्वाचन अधिकृतका रूपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई अधिकार दिँदै आएको थियो । तर, आगामी स्थानीय तहको निर्वाचनमा भने प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हुने व्यवस्था गरिएको छ । गृह मन्त्रालयले प्रमुख मतदान अधिकृत सिडिओलाई बनाउन माग गरे पनि आयोगले ऐनमै संशोधन गरी प्रमुख निर्वाचन अधिकृत न्यायाधीश रहने व्यवस्था गरेको छ । गृहप्रवक्ता बालकृष्ण पन्थीले स्थानीय तहको निर्वाचनमा न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत बनाइएकाले सिडिओलाई सुरक्षा व्यवस्था मजबुत बनाउन सहज हुने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij