प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३
सीमा क्षेत्रका महिलाले भारतको विभिन्न ठाउँमा गएर पाठेघरको शल्यक्रिया गर्ने गरेको पाइएको छ। नेपालमै सरकारले पाठेघरको सम्पूर्ण उपचार नि:शुल्क गरिदिने व्यवस्था गरेको भए पनि उनीहरू सीमापारि पुगेर महँगो शुल्क तिरेर पाठेघरको शल्यक्रिया गराउँछन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ ।
बाराकी सीतादेवी सोनारले गाउँको स्वास्थ्य चौकीमा खुलेर आफ्नो समस्या भन्न अप्ठ्यारो लागेपछि भारतको फत्तेपुर गएर पाठेघर निकालेको बताइन्। यसका लागि उनले ३० हजार तिरिन् । भारतमा गरेको शल्यक्रियापछि स्वास्थ्यमा निकै समस्या आएपछि उनी जनस्वास्वास्थ्य कार्यालय कलैयाले चलाएको स्वास्थ्य शिविरमा पुगिन्। परीक्षण गर्दा उनको आधा मात्रै पाठेघर निकालिएको थाहा भयो । सीतादेवीले अहिले पनि स्वास्थ्य समस्या झेलिरहेकी छन् ।
सीतादेवी जस्तै भारत गएर पाठेघर फाल्ने अर्की पात्र हुन्– कैलारी देवी भानु । चिनजानकै व्यक्तिले भारत गएर पाठेघर जँचाउने सुझाव दिएपछि उतै गएको उनले बताइन्। नेपालमै नि:शुल्क पाठेघरको उपचार हुन्छ भन्ने आफूलाई थाहा नभएको उनले बताइन्। ‘नेपालभन्दा भारतकै अस्पताल नजिक पर्छ, त्यसैले उतै गएँ,’ उनले भनिन् । ७ सन्तानकी आमा कैलारी देवीले सुत्केरी भएका बेला प्रशस्त पोषणयुक्त खाना नपाएको बताइन् ।
पाठेघरको शल्यक्रियाका लागि सीमापारि जानेको संख्या ठूलो रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रोशनलाल चौधरीले बताए। ‘यता नि:शुल्क छ, सीमापारि पुगेर महँगो शुल्क तिरी–तिरी शल्यक्रिया गराउँदा रैछन्,’ चौधरीले भने ।
धेरै सन्तान जन्माउने महिला प्राय: पाठेघर झर्ने समस्याले पीडित हुने गरेको जनस्वास्थ्य कार्यालय बाराकी पब्लिक हेल्थ नर्स माया शाहले बताइन् ।
सानो उमेरमा विवाह गर्ने, सानै उमेरमा धेरै सन्तान जन्माउने गर्दा पाठेघर झर्ने समस्याले विकराल रूप लिँदै गएको प्रमुख चौधरीले बताए । ‘सुत्केरी हुँदा पोषणयुक्त खाना खानुपर्छ, आराम गर्नुपर्छ भन्ने चेतनै छैन यहाँका महिलालाई,’ उनले भने, ‘कतिलाई थाहा छैन, कतिको परिवारले वास्ता गरेको देखिँदैन ।’
कार्यालयले गत जेठमा जबदी गाविसमा महिला स्वास्थ्य शिविरबाट पाठेघरको स्क्रिनिङ गरेको थियो । जसमा ८६ जना महिलामध्ये ६० जनामा पाठेघरको रोग देखिएको थियो । तीमध्ये १० जनाको त तुरुन्तै शल्यक्रिया गर्नुपर्ने स्थिति फेला परेको परिवार नियोजन शाखाका अधिकृत राघवेन्द्र कर्णले बताए । त्यस्तै पुरैनिया गाविसमा ५१ जना महिलाको पाठेघर जाँच गराउँदा ८ जनाको शल्यक्रिया गर्नैपर्ने अवस्था देखिएको उनले बताए। उनका अनुसार धेरै कम महिला मात्र स्वास्थ्य शिविरमा जाँचका लागि आउँछन् ।
‘घरघरै बोलाउन जाँदा पनि स्वास्थ्य शिविरसम्म आउन मान्दैनन्,’ उनले भने, ‘आफैं अस्पताल गएर स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने त चेतना नै छैन।’ शिविरमा आएका महिलाले पनि सल्लाहबमोजिम उपचार गर्न नजाने, औषधि नखाने गरेको कर्ण बताउँछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij