प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३
मोरङ । मोरङको उर्लाबारीमा गत बुधबारदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलन थालेको छ । उर्लाबारी–३ मावा खोलामा फालिदै आएको फोहोर स्थानीयले अवरोध गरेपछि उठ्न नसकेको हो । फोहोर थुप्रदा उर्लाबारी नगर क्षेत्रमा दुर्गन्ध फैलन थालेको छ । यता, नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा पाएको मेचीमहाकाली इन्भारोन्मेन्ट केयर प्रालिले फोहोर डम्पिङस्थल र सुरक्षाको माग राख्दै नगर क्षेत्रको फोहोर उठाएको छैन । 
उर्लाबारी नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि डम्पिङ साइडको ब्यवस्थापन नगरिदिएको उसको भनाई छ ।
उर्लाबारी नगरपालिकाले फोहोर डम्पिङ गर्दै आएको उर्लाबारी–६ बक्राहा खोलामा अवस्थित डम्पिङ साइट गत असारमा बाढीले बगाएपछि हाल उर्लाबारी–३ को मावा खोला किनारमा फोहोर फाल्ने ब्यवस्था मिलाइएको थियो । नगरपालिकाले तीन वर्ष अघि ७ लाख २१ हजार रुपैयाँमा किनेको १ विगाहा ७ कठ्ठा ११ धुर जग्गामा कुनै पूर्वाधार निर्माण नगरी फोहोर विर्सजन गर्दा बाढीले डम्पिङ साइड बगाएको थियो ।
उर्लाबारी नगरक्षेत्रबाट दैनिक ४ देखि ६ ट्याक्टर (२४ देखि ३० टन) फोहोर निस्कने गर्छ । नगरपालिकाले वार्षिक १५ लाख रुपैयाँमा फोहोर ब्यवस्थापनको जिम्मा मेची महाकाली इन्भायरमेन्ट केयर प्रालिलाई दिइएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij